
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयबासीले श्रमदानबाट मर्मत गरेका छन् ।
बरंजाको न्यू स्टार युवा क्लवको अगुवाईमा स्थानीयबासीहरुले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाचिँएका कारण जिर्ण बनेको थियो ।



स्थानीयबासीहरुले उपलब्ध गराएको टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय जनाले श्रमदान गरेका क्लवका अध्यक्ष गणेश केसीले बताउनुभयो ।
मर्मत भएपछि जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने समस्या हटेको छ । काठ काट्न र सामग्री खरिदमा रु. ६६ हजार छ सय खर्च भएको क्लवका संरक्षक मिलन रोकाले बताउनुभयो । स्थानीयबासीहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको रोकाले बताउनुभयो । करिब ३० मिटर लामो यो पुल अर्जेखोला, खर्क, बनाहपिङगे, थामडाडा, सिंगा तातोपानीका बासिन्दाले प्रयोग गर्छन् ।
बिजुली आमा समूह, सामुदायिक वन, बि एण्ड पी क्लव लगायत संघ संस्थाहरुले पनि पुल मर्मतमा सहयोग गरेका छन् ।
