
बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार तेस्रो वर्ष शून्य अंकमा कायम राखेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरुको संख्या शुन्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसुति सेवालाई प्राथमिकता दिएको हो ।
प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको संख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
‘बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्,” उहाँले भन्नुभयो “घरमा प्रसूति हुनेको संख्यालाई शून्यमा कायम राख्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं ।”
बेनी नगरपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा सुत्केरी भएका चार सय ३७ जनाले सुरक्षित प्रसुति सेवा लिएका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो । चालु आर्थिक वर्ष २०८२÷०८३ को साउन र भदौ महिनामा सुत्केरी भएका ६६ जनाले पनि स्वास्थ्य संस्थामै पुगेर सुरक्षित प्रसुति सेवा लिएका उहाँले बताउनुभयो ।

बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८÷७९ मा आठ सय ४७, २०७९÷०८० मा छ सय ७७ २०८०÷८१ मा तीन सय ९२ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताउँछ ।

जोखिमयुक्त प्रसुतिका कारण हुने जोखिम न्युनीकरण गरि बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । १० वटा वडा रहेको बेनी नगरपालिकामा प्रदेश अस्पताल बेनी, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा उपलब्ध छ ।
अधिकांश वडाका गर्भवति सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति छ ।
