
बेनी ः ‘जेनजी’ प्रर्दशनका क्रममा एक महिनाअघि कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले म्याग्दीमा पक्राउ गरेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ का ४७ वर्षीय हिराबहादुर बिकलाई सोमबार मङ्गला गाउँपालिका–२ थाइबाङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकलाई आवश्यक कानूनी कारबाहीको लागि कारागार कार्यालय म्याग्दीमा बुझाएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । कर्तब्य ज्यान मुद्दाका थुनुवा बिक गत भदौ २४ गते साँझ पोखरामा रहेको कास्की कारागारबाट भागेका थिए ।

म्याग्दी कारागारबाट भागेका ७६ मध्य ७१ जना कारागारमा फर्किएका छन् । जवरजस्ती करणी सम्बन्धी मुद्दाका बेनपा–५ का बिक्रम भन्ने कमल परियार, कर्तब्य ज्यान मुद्दाका रघुगङ्गा–४ का के बहादुर गर्बुजा, धवलागिरी गाउँपालिका–४ का अमृत पूर्जा, पुथा उत्तरगंगा गाउँपालिका–९ पुर्वी रुकुमका अनिल बिक र लागू औषध मुद्दाका भारतको बिहारका अजितकुमार पासवान फरार छन् ।
