
बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालन भएको छ ।
तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीको अवसर सिर्जना र पर्यटन प्रर्वद्धनका लागि सयपत्री होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँच वटा घरमा २१ जना क्षमताको घरवास सञ्चालन भएकोसमूहका अध्यक्ष सिता खत्रीले बताउनुभयो ।
“पाहुना राख्नका लागि कोठा र शौचालय लगायतका पूर्वाधार तयार भएका छन्,” उहाँले भन्नुभयो “इको हिमालय संस्थाले वेड, विस्तारा र सरसफाईका लागि आवश्यक पर्ने करिब रु. छ लाख मुल्य बराबरको सामग्री सहयोग गरेको छ ।”
जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरवास शुरु भएको हो । संस्था दर्ता भइसकेको छ । दोस्रो चरणमा थप घरहरुमा पनि घरवास सञ्चालनको तयारी भएको छ ।
समुन्द्रि सतहदेखि एक हजार सात सय ५० मिटर उचाईमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धौलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । मसलेदार फल टिमुर खेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहाँसिक स्थल ढोलथान दरवार, धार्मिक स्थल पछै छन् ।
बेनी देखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र सहित स्तरोन्नतिको क्रममा छ । तोरीपानी हुदै वाइसे चौवीसे राज्यको पालामा दरवार रहेको ढोलथान जोड्ने सडक संघीय सरकार र नगरपालिका मार्फत स्तरोन्नतिका लागि योजनाहरु सञ्चालन भएका छन् ।
बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तब्य बन्न सक्ने देखिन्छ । तोरीपानी हुदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ ।
घरवासको माध्यमबाट पर्यटन प्रर्वद्धन, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।
