
बेनी, । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणका लागि प्रर्वद्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
जलवायु परिवर्तनको असर न्युनीकरण र पर्यावरण संरक्षणको सचेतना फैलाउने उद्देश्यले म्याग्दी, बागलुङ, रुकुम, चितवन, तनहुँ लगायत जिल्लाका २७ जना युवाहरुको टोलीले नारच्याङ देखि आधार शिविर सम्म पदयात्राका साथै सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गरेको हो । सहभागीहरुले पर्यावरण संरक्षणका लागि प्रतिवद्धता जनाउदै आधार शिविरमा हस्ताक्षर पनि गरेका थिए ।



असोज १८ देखि २२ गतेसम्म भएको उक्त कार्यक्रममा पर्यटन र जलवायु सचेतनालाई जोड दिएको कार्यक्रमको संयोजन गर्नुभएकी बागलुङको ढोरपाटन नगरपालिका–९ की रमिता पुनले जानकारी दिनुभयो । उक्त समूहले यसअघि ढोरपाटन शिकार आरक्षको नयाँ पर्यटकीय स्थल चौरीखर्क र गर्पाछेडा बुकीपाटनको प्रर्वद्धन र सरसफाई सम्बन्धी कार्यक्रम गरेका थिए ।
हाइज फाइभ एडभेन्चर प्रा.ली.ले प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । आधार शिविरका पुगेर फर्किएपछि पदयात्रा टोलीले नारच्याङमा जनप्रतिनिधी र सरोकारवालाहरुसँग छलफल गरेका थिए । वडा अध्यक्ष लोकबहादुर फगामीले पदमार्गको प्रर्वद्धन र जलवायु परिवर्तनको असर न्युनीकरणका लागि युवाहरुले गरेको कार्यक्रम सहनीय भएको बताउनुभयो ।
