
म्याग्दी, ः बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ ।
वि.स. २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा बर्षा हुनेवित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा सिधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।
स्थानीयबासीलाई आवत जावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफुल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका–२ बाबियाचौरका चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो ।

“साघुरो सडकमा गुडिरहेका सवारी साधनमाथी पहिरो खसेर चोटपटक लाग्ने, सवारी साधनमा क्षति पुग्ने गरेको छ,” उहाँले भन्नुभयो “जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।”

म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजना र डाडाखेत राहुघाट सवस्टेशन तथा प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिचाईलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर परेको छ । सडक मुनी म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ ।
तत्कालीन जिविसले सडक मुनी पक्कि पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरेपनि सडकमाथीको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।
जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।
“फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन गरेको छ,” उहाँले भन्नुभयो “संघीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल गरिरहेका छौ ।”
तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्री परिषद् बैठकले दुई वर्षअघि गरेको संघीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण दुई वर्षसम्म पनि कार्यान्वयन भएको छैन् ।
प्रतिनिधी सभाका निवर्तमान सांसद खमबिर गर्बुजाले उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री हुँदा बेलिब्रिज व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयसँग समन्वय गरिरहनुभएको थियो । ५५ मिटर लामो बेलब्रिजको ब्यवस्थाका लागि पहल गरिरहेको अवस्थामा सरकार ढलेपछि अन्यौलता सिर्जना भएको छ ।
