
बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।
धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन मार्फत चिनका ना ली र किङलीयाङ झाङले सोमबार धवलागिरीको सफल आरोहण गरेका हुन् । सोना शेर्पा, पासाङ नर्बु शेर्पा र दावा शेर्पाको टोलीलाई उनिहरुलाई आरोहण गराएको कम्पनीले जनाएको छ ।
यसअघि सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चिन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका थिए ।
स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चिनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट टे«क्सका संस्थापक मिङमा शेर्पाले जानकारी दिनुभयो ।



उहाँका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरीको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सीङ’ (डोरी तानेका) थिए । शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनिहरुको सहयोगमा आरोहीहरु चुचुरोमा पुगेका हुन् ।
पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु. ५० लाख ७१ हजार सलामी दस्तुर (शूल्क) प्राप्त भएको छ ।
गत वसन्त याममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु. ३६ लाख ९१ हजार दुई सय ६० राजस्व संकलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।
छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौति हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गर सहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।
