
बेनी, ः बडादसैँको सातौँ दिन आज म्याग्दीका कोतघरहरुमा धार्मिक बिधिपूर्वक फुलपाति भित्र्याइएको छ ।
वाइसे–चौबीसे राज्यका पालादेखि रहेका ऐतिहाँसिक कोतघरहरुमा परम्पराअनुसार फुलपाति भित्र्याइएको हो । बेनी, ज्यामरुककोट, भगवति र ताकममा रहेका कोतहरुमा परम्परादेखिनै बडादशैको सातौ दिन पुजाआजा गरेर फुलपाति भित्र्याउने चलन छ ।
म्याग्दी र कालीगण्डकीको दोभानबाट ल्याएको फुलपातिलाई भगवति मन्दिरमा पुजा गरि बाजागाजा र झाँकी सहित बेनी बजार परिक्रमा गराएर संगमचोकमा बोकाको बली चढाएपछि कोतघरमा भित्र्याइएको थियो ।
बेनीकोत पुजा व्यवस्थापन समितिले दिउँसो, नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले बिहान छुट्टाछुट्टै फुलपाति भित्र्याएका थिए । यसअघिका वर्षमा सुरक्षा निकाय र व्यवस्थापन समितिले संगै फुलपाति भित्र्याउने गरेका थिए ।
फुलपाति भित्र्याउने कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठ लगायत जनप्रतिनिधी र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।
नेपाल भाषा मंका खःल र ल्याम पुःचका कलाकारहरुले मौलिक झाँकी, धिमे बाजा र नाच प्रर्दशन गरेका थिए । नौमती बाजा समूहको पनि प्रस्तुति थियो ।
सुरक्षा निकायहरुले भने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी लगायत सुरक्षा अधिकारीहरुको उपस्थितिमा बिहानको शुभसाइतमा बेनीकोतमै फुलपाति भित्र्याएका थिए ।
बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले सुरक्षा निकायले नेपाली सेनाको निर्देशन अनुसार र व्यवस्थापन समितिले परम्पराअनुसार आआफ्नो तरिकाले फुलपाति भित्र्याइएको बताउनुभयो ।
धवलागिरी गाउँपालिकाको ताकम, बेनी नगरपालिकाको ज्यामरुक र रघुगङ्गाको भगवतिमा रहेको कोतघरमा पनि धार्मिक बिधी अनुसार फुलपाति भित्र्याएको व्यवस्थापन समितिहरुले जनाएका छन् ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रर्याइन्छ ।
