
म्याग्दी, ः सन् (२०२५) को चालु शरदयाममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् ।
विश्वको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । २४ जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु. ५० लाख ७१ हजार सलामी दस्तुर (शूल्क) प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नु पर्छ ।

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार गोरखामा रहेको (आठ हजार एक सय ६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।

शरदयामका आरोहीहरुको रोजाईमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको संख्यामा धौलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।
यसपाली आरोहण टोली मुस्ताङको मार्फा देखि याकखर्क हुदै आधार शिविरतर्फ गएका छन् । धवलागिरी गाउँपालिकाको मुदी बगर हुदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।
गत वसन्त याममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु. ३६ लाख ९१ हजार दुई सय ६० राजस्व संकलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।
छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौति हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गर सहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।

			