
बेनी ः शरदयामको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरु आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाल बताउनुभयो ।
दसै तिहारको छुट्टी शुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।


छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।
सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताउनुभयो ।

७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउदै वि.स. २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाईमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा मौरिस हर्गोज नामारण गरि खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत ब्यवस्था अनुसारको प्रक्रीया पुरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङसञ्चालन गरेका छन ।
पर्यटकहरुलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापीङ साइटहरुमा दैनिक ५० जना सम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।
