
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक बिधीबाट तरकारी खेती गरेका छन् ।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् । आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमी लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।
यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । टिकोटका किसान टिका तिलिजाले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमुत्र प्रयोग गरेको बताउनुभयो ।



“पलास्टिकको वोत्तलमा संकलन गरेर राखेको गाईभैसीको मुत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौ,” उहाँले भन्नुभयो “टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।”
टिकोट र घराम्दीमा करिब दुई सय ५० घरपरिवारको बसोबास छ । यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मुत्र संकलन गरेर राखेका छन् । पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द वोत्तल प्रयोग गरेका हुन् ।
मल र गहुँतका लागि किसानले घरघरमा गाईभैसी र गोरु पालेका छन् । जङलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन् । गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताउनुभयो ।
“तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ किराहरु देखिएका छन,” उहाँले भन्नुभयो “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।”
“जैविक विधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ,” उहाँले भन्नुभयो “मूल्य पनि राम्रो पाएको छ ।” बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ । आलु र बन्दा खेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो ।
यहाँबाट वार्षिक रु. दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका–७ का वडा सदस्य समेत रहेका टिकोटका व्यवसायिक किसान वुद्धिविर पुनले बताउनुभयो ।
टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो । कार्यक्रम मार्फत कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिचाई सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।
