
मल्लाज, पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने मल्लाजमा शनिबारदेखि बडादशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
बडा दशै मेला मूल आयोजक समितिले मल्लाज भगवति कोत मन्दिर परिसरमा आयोजना गरेको प्रतियोगिताको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा जलजला गाउँपालिकाका वडा अध्यक्षहरु प्रकाश जिसी, भरत जिसी लगायतको पनि उपस्थिति थियो । जलजला गाउँपालिकाका जनप्रतिनिधी र आयोजक बीच भएको पुरुष भलिबलको मैत्रीपुर्ण खेलमा गाउँपालिकाले आयोजकलाई एकका विरुद्ध दुई सेटले पराजित गरेका थिए ।



मल्लाजमा परम्परागत रुपमा लाग्दै आएको बडादशै मेलालाई निरन्तरता दिएको संयोजक मनोज भण्डारीले बताउनुभयो । असोज १५ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबल, प्रौद्ध भलिबल, बाल भलिबल, भाले छुने, छेलो, पञ्जेबाजा र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु. एक लाख एक हजार छ सय ६६ र रु. ५५ हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने खेलकुद अध्यक्ष विशाल अधिकारीले बताउनुभयो ।
प्रौढ भलिबल (४०) मा बिजेतालाई रु. ८० हजार र उपबिजेतालाई रु. ४० हजार र प्रौद्ध भलिबल (३५) मा बिजेतालाई रु. ६० हजार र उपबिजेतालाई रु. ३० हजार प्रदान गरिने भएको छ । बाल भलिबलको बिजेतालाई रु. ४० हजार र उपबिजेतालाई रु. २५ हजार, छेलोमा बिजेतालाई रु. १५ हजार पुरस्कार प्रदान गरिनेछ ।
पञ्चेबाजामा बिजेतालाई रु. दश हजार प्रदान गरिनेछ । आइतबारसम्म नाम दर्ताको समय रहेको र खेलकुद प्रतियोगिताहरु शुरु हुने सांस्कृतिक संयोजक आयुष जि.सी.ले बताउनुभयो ।
