म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दी जिल्ला भित्र रहेका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडादर समायोजन भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा विहिवार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थाइ मार्गमा सार्वजनिक यातायातको भाडादर निर्धारण र समायोजन भएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले स्तरोन्नति भएका पुराना सडकमा भाडादर समायोजन तथा नयाँ मार्ग खुलेका सडकको भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड, बेनी–दरवाङ र बेनी–रत्नेचौर सडकमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा रु. १० र जीप भाडा रु. १५ कायम भएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डको ३३ किलोमिटर मध्य २६ किलोमिटर कालोपत्र भएको छ ।

Shreekrishna

२४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको बेनी–तोलावाङ खण्डको १८ किलोमिटर कालोपत्र भएको छ । नयाँ भाडादर अनुसार बेनी–दरबाङ सडकमा बसमा प्रतियात्रु रु. दुई सय ४०, जीपमा रु. तीन सय ६० र ट्याक्सीमा रु. चार सय आठ भाडा कायम भएको छ ।

म्याग्दीका अन्य पक्की सडकमा प्रति किलोमिटर बसले रु. १८ र जिपभाडा रु. २५ भाडा तोकिएको छ । त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु, प्रति किलोमिटर रु. १७ र कच्ची सडकमा प्रति किलोमिटर रु. ३० कायम भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

त्यस्तै माथि तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा रु. १४ र जिप भाडा रु. १८ निर्धारण गरिएको छ ।

सडक स्तरोन्नति भएपनि सार्वजनिक यातायातको भाडादर कच्चि सडक सरह तिर्नुपरेको सर्वसाधारणको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्यको नेतृत्वमा भाडादर समायोजनका लागि अध्ययन गर्न कार्यदल बनाएको थियो ।

उक्त कार्यदल र स्थानीय तहहरुको सिफारिसका आधारमा जनप्रतिनिधी, यातायात ब्यवस्था कार्यालय तथा यातायात व्यवसायीहरुको बैठकले भाडादर निर्धारण र समायोजन गरेको हो । तोकिएको भाडादर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टास्ने र प्रशासन तथा सुरक्षा निकायले नियमित अनुगमन गर्ने प्रजिअ तिवारीले बताउनुभयो ।

आगामी सातदिनभित्र स्थानीय तहले तोकिएको किलोमिटरको दरले आफ्नो क्षेत्रमा रहेका सवारी रुट सहित भाडादर उल्लेख गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्र«ाफिक कार्यालयमा पठाउने निर्णय भएको छ । यात्रुले आफुले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने, यातायात ब्यवसायीले अटेर गरेमा, क्षमताभन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने छ ।

बैठकमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेममायाँ पुन, यातायात ब्यवस्था कार्यालय बागलुङकी प्रमुख गोमादेबी शर्मा, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा यातायात ब्यवसायी लगायत सरोकारवाला निकायको उपस्थती रहेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...