
बेनी, ः म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ ।
बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १० जना बाहेक सबै कारागार फर्काइएको जानकारी दिनुभयो । बुधबारसम्म ३१ जना कैदीबन्दी आफै सम्पर्कमा आएका र ३५ जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ । काठमाडौबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । बेनी नगरपालिका –२ खबराका २९ वर्षीय अर्जुन जि.सी., २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा १ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनिल थापामगर, ३१ वर्षीय सुसन थापामगर र १९ वर्षीय अभिषेक परियार प्रहरी हिरासतमा छन् ।
