
बेनी, पर्वतको जलजला गाउँपालिकामा घरमा प्रसुति (सुत्केरी) हुनेको संख्या शून्य बनेको छ ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१÷०८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसुति सेवा लिएका बताउनुभयो ।
“आर्थिक वर्ष २०८०÷०८१ मा होम डेलिभरीको संख्या एक वटा थियो,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८१÷०८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौ ।” जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेको प्रसुति गृहमा १६ जना सुत्केरी भएका हुन ।

एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरा लगायत ठाउँमा पुगेर प्रसुति सेवा लिएका शाखा प्रमुख मल्लले बताउनुभयो । गत आर्थिक वर्षको सुरुदेखिनै सञ्चालन गरेको गर्भवति लगायतलाई निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेपछि घरमा जोखिम मोलेर असुरक्षित रुपमा प्रसुति हुनेको संख्या शुन्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

जोखिमयुक्त प्रसुतिका कारण हुने जोखिम न्युनीकरण गरि बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ लाई शून्यमा कायम राख्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आठ पटक गर्भ जाँच र संस्थागत प्रसुति सेवालाई प्रोत्साहन, घरमा सुत्केरी हुनेको संख्या शून्यमा झार्ने, आमा तथा बच्चाको पोषणमा सुधार ल्याउन सन्देश प्रवाह गराउने उद्देश्यले जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिने कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
जलजला गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन भएका कार्यक्रमहरुको सोमबार लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा समिक्षा भएको थियो । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्षहरु र स्वास्थ्य कार्यालयका प्रतिनिधीहरुको उपस्थितिमा भएको कार्यक्रममा ९ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

गत वर्ष गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक तथा नसर्ने रोग स्किृनिङ कार्यक्रम मार्फत एक हजार पाँच सय जनाले सेवा पाएका छन् । प्रत्येक महिना स्वास्थ्यकर्मीहरुले विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । मल्लाजमा १० शैया क्षमताको अस्पताल भवन निर्माण सकिएको र नाग्लीवाङ स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । १२ वटा स्वास्थ्य संस्थाहरुमा विद्युतीय प्रणालीबाट स्वास्थ्य सेवाको अभिलेख राख्न थालिएको छ ।
एक वर्षमा छ सय ३१ जनाले एम्बुलेन्स सेवा पाएका छन् । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असहाय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । स्वास्थ्य शिविर मार्फत पाँच हजार जेष्ठ नागरिकले सेवा पाएका छन् । जलजलामा तीन हजार तीन सय २८ परिवारका १० हजार तीन सय चार जनाले स्वास्थ्य बिमा गरेका छन् ।
