जेनजीको निशानामा म्याग्दीका पार्टी कार्यालयहरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीमा रहेका राजनीतिक दलका कार्यालयहरुमा मंगलबार तोडफोड, कागजपत्र र फर्निचर आगजनी भएको छ ।

“जेनजी” पुस्ताको आन्दोलनमा संलग्न युवा तथा किशोरहरुको हुलले बेनीमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, विप्लप (नेतृत्वको नेकपा), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलनकारीहरुले एमाले, काँग्रेस र माओवादीका शिर्ष नेताको विरुद्ध नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

आन्दोलनकारीहरुले सुरुमा पार्टी कार्यालयको बोर्ड निकालेर आगो लगाईदिएका थिए । बिरेन्द्रचोकबाट शुरु भएको प्रर्दशन न्युरोड, अस्पतालचोक, कालीपुल, गणेशटोल हुदै संगमचोकमा आएर नेपाली काँग्रेसको पार्टी कार्यालय अगाडी आएर केही समय रोकियो ।

Shreekrishna

नाराबाजी भइरहेको समयमा काँग्रेसको होडिङ बोर्डमा ढुंगा प्रहार भयो । त्यसपछि आन्दोलनकारीले बोर्ड च्यातेर फाले । प्रहरीले पार्टी कार्यालयमा भिडलाई जान रोक्यो । उनिहरु संगमचोक देखि बालमन्दिरचोक हुदै कर्मचारी मिलनकेन्द्र अगाडी खाद्यको भवनमा रहेको विप्लप नेतृत्वको नेकपाको कार्यालयको कार्यालयको साइनबोड झिकेर फालेका थिए ।

बिरेन्द्र चोक हुदै हाडेभिर एमाले पार्टी कार्यालय पुगेर साइनबोर्ड झिकेर फाले । त्यसबेलासम्म आन्दोलन नियन्त्रणमै थियो । एमाले कार्यालय जाने र फर्कने समयमा बेनी नगरपालिकाको कार्यालयभित्र प्रर्दशनकारी पस्ने प्रयास गरेपनि नगर प्रहरी र प्रहरीले रोकेका थिए ।

एमाले पार्टी कार्यालयबाट म्याग्दी नदीको पुल तरेर मंगलाघाट तर्फ गएको भिडका केही युवाहरु पहिलेनै महारानीथानमा रहेको माओवादी कार्यालय पुगेर तोडफोड र भित्र भएका कागजात तथा फर्निचरहरु बाहिर निकालेर आगो लगाउन थालेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

करिब पाँच मिनेटको प्रयासपछि आन्दोलनकारीले कार्यालयको ताला फुटाएर सहिदको तस्विर भएको ब्यानर, कम्प्युटर, फर्निचर, कागजपत्रहरु भुइमा झारेर आगो लगाएका थिए । माओवादीको कार्यालयमा लागेको आगो निभ्ने समयमा बल्ल प्रहरीहरु पुगेका थिए ।

माओवादी कार्यालयको आगो ननिभ्दै अर्को समुह संगमचोकमा रहेको काँग्रेसको कार्यालयभित्र पसेर कागजपत्र, फर्निचर बाहिर निकालेर आगो लगाएका थिए । त्यसपछि सो भिड नाराबाजी गर्दै हाँडेभिरमा रहेको एमाले पार्टी कार्यालयमा पुग्यो । माओवादी र काँग्रेसको जस्तै गरी एमालेको पार्टी कार्यालय भित्र भएको सबै सामानहरु बहिर निकालेर प्रर्दशनकारीले आगो लगाए ।
त्यसपछि आन्दोलनकारीको एक समूहले बिरेन्द्रचोकमा राज्यपक्षको दमनबाट ज्यान गुमाएकाहरुको सम्झनामा शोक सभा गरेको थियो । अर्को समूहले न्युरोडमा भाडाको घरमा रहेको राप्रपाको कार्यालयबाट सामान निकालेर सडकमा फाल्ने, संगमचोक र बिरेन्द्रचोकमा लगेर जलाएका थिए । रास्वपाको कार्यालयका सामान पनि निकालेर आगो लगाएका छन् ।

आन्दोलनमा सहभागी रास्वपाको मंगला गाउँपालिका सभापति शिव शर्माले सबै दलको अस्तित्व सकिएकाले पार्टीका कार्यालयका सामान झिकेर नष्ट गरेको प्रतिक्रिया दिनुभयो । दिउँसो ४ बजेदेखि सुरु भएको आन्दोलन साँझ ७ बजेतिर तितरवितर भएको थियो । प्रहरीले साँझ माइकिङ गरेर घरभित्र सुरक्षित रहन बजारबासीलाई अपिल गरेका थियो ।

जेनजीको आन्दोलनमा सरकारले दमन गर्दा काठमाडौ र इटहरीमा सोमबार १९ जनाको हत्या र चार सय जना भन्दा बढी घाइते भएका थिए । म्याग्दीको बेनी नगरपालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा पर्वतको जलजला गाउँपालिकाले सुचना जारी गरेर विद्यालयहरुमा शोक विदा दिएका थिए ।

बेनी बजारमा मोवाईल र मुद्रण सम्बन्धी व्यवसायीले विज्ञप्ति जारी गरेर व्यवसाय बन्द गरेका थिए । आन्दोलन र सम्भावित घटनाको जोखिमका कारण बजारका आधाजसो पसलहरु मंगलबार बन्द भएका थिए ।

सरकारको दमनका कारण जेनजी आन्दोलनमा सहभागी निहत्था नागरिकको ज्यान गएकोमा साहानुभूति राखेका सर्वसाधारणहरुले प्रधानमन्त्रीले राजिनामा दिइसक्दा पनि आन्दोलन उग्र भएको, सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीप्रति दुःख ब्यक्त गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...