
बेनी । बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।
बेनीको चक्रपथबाट कालीगण्डकीमा मोटरसाइकल सहित खसेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो ।
बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित कालीगण्डकीको किनारमा शुक्रबार विहान रिजालको शब फेला परेको र हुलीयाको आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिल शर्मा शिलवालले जानकारी दिनुभयो ।
नदि किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खवर गरेका थिए । बागलुङ प्रहरीले जिल्ला प्रहरी कार्यालय म्याग्दीसंग समन्वय गरी वेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराएको थियो ।
रिजालसंगै वेपत्ता भएका रघुगंगा गाउँपालिका– २ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ । बेनीको बैँकरोड स्थित एक होटलमा संगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदिमा खसेको दृष्य सिसी टिभिमा कैद भएको थियो ।
दुर्घटना भएको भएको सडकछेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेला परेको थियो भने बेनी नगरपालिका–१ थाङ्नेबगर स्थित कालीगण्डकी नदी किनारमा उनीहरु सबार पल्सर १५० सिसी मोटरसाइकलको फ्युल ट्यांकी फेला परेको थियो । वेपत्ता भएकाहरुको नेपाल प्रहरी र आफन्तजनसंगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए ।

यसैबिच एउटै मोटरसाइकलमा सवार भइ कालीगण्डकीमा दुर्घटनामा परेर वेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रवार कुशको शब बनाएर अन्तिम संस्कार गरेका छन् । कुमारको अवस्था पत्ता लाग्न नसकेपछि घटना घटेको तत्कालिन समयमा उपलब्ध सिसी क्यामेराहरुका दृष्यमा उनीहरु एउटै मोटरसाइकलमा सवार रहेको देखिएको र अर्का युवाको शब भेटिएपछि काजकिरियाजन्य धार्मिक संस्कारको लागि कुशको शव मनाएर अन्तिम संस्कार गरिएको परिवारजनयले जनाएका छन् ।
