
बेनी। आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न रु. चार करोड २३ लाख बजेट प्राप्त भएको छ ।
प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मार्फत म्याग्दी जिल्लामा सञ्चालन हुने कार्यक्रम र बजेट सोमबार बेनीमा सार्वजनिक गरिएको हो ।
किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रु. दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु. एक करोड ६४ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा रु. एक करोड २४ लाख ४८ हजार बजेट बिनियोजन भएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आवेदन संकलनका लागि सूचना जारी गरेर कार्यक्रम कार्यान्वयनको प्रक्रीया अघि बढाएको छ भने प्रदेश सरकारका कार्यालयहरु केही नयाँ कार्यक्रमहरुको कार्यबिधी आएपछि कार्यान्वयनको तयारी गरेका छन् । कार्यक्रमका प्रकृति अनुसार कुल लागतको ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउने कार्यबिधी छ ।

लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रम

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिब बास्तोलाले यस वर्षको नयाँ कृषि उद्यम विकास कार्यक्रमलाई रु. २५ लाख, लोकमार्ग÷कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागि रु. २० लाख, निर्यातजन्य कृषि वस्तु प्रर्वद्धन कार्यक्रमलाई रु. १० लाख, विपद्बाट क्षति ब्यहोरेको कृषकलाई राहत दिन रु. आठ लाख र ग्रामिण कृषि पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि रु. पाँच लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो ।
जलवायुमैत्री कृषि प्रविधी प्रर्वद्धन कार्यक्रमलाई रु. १० लाख, तरकारी विउ उत्पादनका आधारमा प्रोत्साहनका लागि रु. २० लाख, फलफुल नर्सरी स्थापना तथा सञ्चालनका लागि रु. १० लाख, फलफुल बगैचा व्यवस्थापन तथा सुदृढीकरणका लागि रु. एक करोड दुई लाख, फलफुल बगैचान स्थापना तथा विस्तारका लागि रु. सात लाख ५० हजार, खाद्यान्नबाली उत्पादन प्रर्वद्धनका लागि रु. १५ लाख, व्यवसायिक तरकारी खेती सहयोग कार्यक्रमलाई रु. १७लाख, सुन्तलाजात फलफुल बगैचा स्थापना तथा विस्तारमा रु. छ लाख र सुदृढीकरणका लागि रु . १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।
रैथाने तथा स्थानीयबासी विकास र ग्रामिण पोषण सुरक्षण कार्यक्रमलाई रु. १५÷१५ लाख र आइपिएम कृषक पाठशालाका लागि रु. पाँच लाख बिनियोजन भएको छ । यसअघिको तीन वटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ ।
केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत रु. दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको थियो । कार्यक्रमहरुबाट एक हजार चार सय एक जना कृषक लाभान्वित भएका र विभिन्न तालिममा नौ सय ९९ जना सहभागी भएका छन् ।
विपद् प्रभावित कृषकलाई राहत दिइने
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले चालु कार्यक्रम सञ्चालनका लागि रु. एक करोड ६४ लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो । कालीगण्डकी कोरिडोरमा केन्द्रित पशुपक्षी तथा मत्य उत्थान कार्यक्रमलाई रु. २० लाख र विपद्बाट पशुधन क्षति भएका किसानलाई राहत दिन रु. १० लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो । किसानहरुलाई राहतका लागि कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताललाई यस वर्ष पहिलो पटक बजेट प्राप्त भएको हो ।

यस वर्ष मत्स्य विकास कार्यक्रम मार्फत माछाका भुरा खरिद, ढुवानी र वितरण गर्न रु. दुई लाख, कृतिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडीबाच्छी हुर्काउन प्रोत्साहनका लागि रु. तीन लाख, कृषि ऋणमा ब्याज अनुदानका लागि रु. एक लाख, दूध उत्पादनमा आधारित प्रोत्साहनका लागि रु. १० लाख बजेट प्राप्त भएको छ ।
पशुमा पूर्णखोप अभियान सञ्चालन तथा व्यवस्थापनका लागि रु. ३५ लाख, खोपकर्ता, गणक र तथ्याङ व्यवस्थापकको पारिश्रमिकमा रु. २५ लाख, बृहत्तर पशु विकास प्रर्वधन कार्यक्रमलाई रु. १० लाख, चरन क्षेत्रमा रहेका भेडाबाख्राहरुको स्वास्थ्य प्रर्वद्धन कार्यक्रमलाई रु. तीन लाख र स्थानीय पशुपंक्षी संरक्षण कार्यक्रमलाई रु. पाँच लाख बजेट प्राप्त भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत रु. ३८ लाख सत्तरी हजार ७५ अनुदान पाएका केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले बताउनुभयो । पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार छ सय ५१ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइएको थियो ।
कृषि उद्यमीलाई अनुदान

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत बिक्रम बस्यालले मुस्ताङ र म्याग्दीका कृषि उद्यमीहरुलाई अनुदान उपलब्ध गराउन रु. २०÷२० लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
परियोजनाले सञ्चालन गर्ने कार्यक्रमबाट सुविधा लिन इच्छुक कृषि समूह, सहकारी र फर्मलाई सूचिकरण हुन सार्वजनिक सूचना जारी गरिसकेको छ । पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु. ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु. १६ लाख ६८ हजार र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको बंगुर जोनमा रु. २९ लाख ९० हजार बजेट रहेको कृषि अधिकृत बस्यालले बताउनुभयो । उहाँका अनुसार परियोजना मार्फत गत आर्थिक वर्षमा म्याग्दीका कृषकहरुले रु. ९९ लाख अनुदान सुविधा पाएका छन् ।
आलु, सुन्तला, दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन जोड
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले म्याग्दीमा आलु, सुन्तला खेती, दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गरी कृषि र भेटेरीनरीका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
गत वर्ष म्याग्दीमा रु. ६० करोड मूल्य बराबरको आलु र सुन्तलाको कारोबार भएको बताउँदै उहाँले सम्भावना भएको क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्रको कार्यक्रम प्राथमिकता प्राप्त कार्यक्रममा केन्द्रित देखिएपनि भेटेरेनरीका कार्यक्रम बिकेन्द्रित भएकाले आगामी वर्ष यसलाई सुधार गर्न सुझाव दिनुभयो ।
कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार गरि आम किसानहरुको पहुँच बढाउन र सहजताका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । यस वर्षदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा सुरु भएको नाफा परियोजनाबाट लाभ लिन कृषकहरुलाई अग्रसर बन्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, लाभग्राही किसान र जनप्रतिनिधीहरुको पनि उपस्थिति थियो । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटका साथै गत वर्षको प्रगति विवरण पनि सार्वजनिक भएको थियो ।
