
बेनी, ः म्याग्दीमा अरिङगालको परिकार पाहुनाको रोजाईमा परेको छ । होटलहरुलाई अरिङगालको माग धान्न र पु¥याउन हम्मे परेको छ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाहरुको पहिलो रोजाईको परिकार अरिङ्गाल हुने गरेको बताउनुभयो ।
“स्थानीयबासी मात्र नभएर अरिङगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुनाहरु बेनी आउन थालेका छन,” उहाँले भन्नुभयो “स्वादिलो र तागतिलो हुने भएकाले अरिङगालको उपभोग बढेको छ ।” थापाको होटलमा दैनिक १० देखि २० प्लेट सम्म अरिङगाल बिक्री हुन्छ ।

प्रतिप्लेट फ्राई अरिङगालको मूल्य रु. छ सय देखि सात सय पचास छ । अग्ला रुखमा चढेर शिकारीहरुले अरिङगालको लार्भा सहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिङगालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ ।

खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाहरुले अरिङगालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिंगा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।
गोला सहितको एक किलो अरिङ्गाल रु. तीन हजार देखि तीन हजार पाँच सयमा बिक्री हुने गरेको अरिङगाल शिकारी तमबहादुर पुनले बताउनुभयो । अरिङ्गाल शिकार गर्ने र पाल्नेहरुले लार्भा बेचेर एक याममा रु. एक लाख भन्दा बढी आम्दानी गर्छन् ।
बेनी नगरपालिका–६ जामुनाखर्कमा व्यवसायिक रुपमा अरिङगालपालन गरेका अशोक र गिता पाइजा शाहीले माग धान्नै नसकेको बताउनुभयो । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ वटा गोला पालेर एक क्विटल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ ।
एक वटा गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ ।
अरिंगाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिङगाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिंगाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिङगाल शिकार गर्नेहरुका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिंगाल हुन्छन् ।
आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ ।
