
बेनी । बेनीमा मंगलबार २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रर्दशन गरिएको छ ।
नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारहरुले मौलिक र परम्परागत थेत्तोर नाच प्रर्दशन गरेका हुन् । भाषा मंकाःखलका कलाकार सञ्जय कुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिनुभयो ।
यसअघि वि.स. २०६२ मा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाच अन्तर्गतको थेत्तोर नाच नियमित प्रर्दशन हुन सकेको थिएन् । थेत्तोरलाई धानको बाला नाचको रुपमा पनि चिन्ने गरिन्छ ।
थेत्तोर नाचमा विदेशबाट परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताउनुभयो । “परापुर्व कालमा रोजगारीका लागि छिमकी मुलुक भारतबाट फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयबस्तुलाई ठट्यौली दंगले गितमा प्रस्तुत गरिन्छ,” उहाँले भन्नुभयो “मौलिक गितको लय र सुर तालमा लाहुरे, युवतिहरु र जोक्करले गर्ने अभिनय रोचक हुन्छ ।”


थेत्तोर नाचमा यसपाली बेनी सामुदायिक माविका विद्यार्थी कलाकारहरु सहभागि भएका थिए । यो नाचका लागि बाद्यबादन सहित ३० जना भन्दा बढी कलाकार आवश्यक पर्छ । परापुर्वकालमा बेनी वरपरका गाउँबस्तिमा धान र कोदो रोपाईको काम सकेपछि स्थानीयबासीहरु मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने चलन थियो ।

बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि शुरु भएको बर्खेनाचको मंगलबार हरितालिका तिज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो ।
दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागागागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।
आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू हराउँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ ।

लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंःकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
