
बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरु उत्साहित भएका छन् ।
गाईभैसी र बाख्रापालकलाई दिदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट बिनियोजन गरेको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरि आत्मनिर्भर बनाउन कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
“किसानलाई व्यवसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ,” उहाँले भन्नुभयो “बजेट बढाएर साना किसानहरुलाई पनि समेट्ने गरी कार्यबिधी बनाएका छौ ।”


चालु आर्थिक वर्ष २०८२÷०८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु. १५ लाख, तरकारीमा रु. १० लाख र मासुमा रु. सात लाख ५० हजार बजेट बिनियोजन गरेको नगरपालिकाले आवेदन संकलन गरेर लाभग्राही छनौटको प्रक्रीया अघि बढाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा १८ जना भाईभैसीपालक कृषकहरुले रु. १० हजार देखि ४५ हजारसम्म गरि कुल रु. पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु. सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ मा ३२ जना बाख्रापालक कृषकले रु. छ लाख ४४ हजार नौ सय ८० र १८ जना दूग्ध उत्पादक कृषकहरुले रु. पाँच लाख अनुदान पाएका थिए । बेनी नगरपालिका–७ कुरिलाखर्कका भैसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानहरुलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताउनुभयो ।
बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम संचालन कार्यविधी, २०८० बनाएको छ । कार्यविधि अनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैसीपालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको संख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ ।
किसानहरुलाई लद्यु उद्यमी, साना उद्यमी, मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरेको छ । लघुउद्यमीहरुले वडा कार्यालयमा मात्रै दर्ता भएपनि सुविधा पाउनेछन् ।
अनुदानका लागि छनोट भएका लघु उद्यमीलाई रु. १५ हजार, साना उद्यमीलाई रु. २५ हजार, मझौला उद्यमीलाई रु. ३५ हजार र व्यावसायिक उद्यमीलाई रु. ४५ हजा अनुदान वितरण गरिने नगरपालिकाले जनाएको छ ।
उक्त अनुदान पाउनका लागि गाई, भैंसी पाल्ने लघु किसानले ३ देखि ४ वटा दहुना गाई भैंसी पालन गरी मासिक रुपमा ५०० देखि ६०० लिटरसम्म दूध उत्पादन गरी बिक्री गरेको हुनुपर्ने, बाख्रापालक किसानले ८ देखि १२ वटा र तरकारी उत्पादन गर्ने किसानले एक रोपनी जमिनमा खेती गरी मासिक रुपमा एकसय केजी तरकारी उत्पादन गरी बिक्री गरेको हुनुपर्नेछ ।
यसैगरी साना उद्यमीले ५ देखि ८ वटा दुहुना गाई भैंसी पालन गरी मासिक रुपमा सातसय देखि एकहजार एकसय लिटर दूध उत्पादन गरी बिक्री गरेको,बाख्रापालन किसानले १३ देखि १९ वटा माउ बाख्रा पाल्नुपर्ने र ताजा तरकारी उत्पादन गर्ने किसानले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा दुईसय केजी तरकारी बिक्री गरेको हुनु्पर्नेछ ।
यसैगरी मझौला किसानले ९ देखि १३ वटा दुहुना गाई, भैंसी पालेर मासिक रुपमा १२ सय देखि १४ सय लिटर दूध उत्पादन गर्नुपर्ने, बाख्रापालक किसानले २० देखि २९ वटा बाख्रा पाल्नुपर्ने र तरकारी खेती गर्ने किसानले चार रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गरी चारसय केजी तरकारी बिक्री गरेको हुनुपर्ने छ ।
यस्तै व्यावसायिक किसानले १४ भन्दा बढी दुहुना गाई, भैंसी पालन गरी मासिक रुपमा एकहजार पाँच सय लिटरभन्दा बढी दूध बिक्री वितरण गरेको हुनुपर्ने,बाख्रपालन तर्फ किसानले ३० भन्दा बढी बाख्रापालन गरेको हुनुपर्ने र तरकारी उत्पादन गरेको व्यावसायिक किसानले ८ सय रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा ८ सय केजी तरकारी बिक्री गरेको हुनुपर्नेछ ।
पशुपालक कृषकलाई व्यवसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधिन छ ।
