

बेनी, म्याग्दीमा विद्युत वितरण प्रणालीलाई सुदृढीकरण योजना सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले रु. १० करोड बजेट बिनियोजन गरेको छ ।
उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत आपुर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ मै योजना शुरु हुने जानकारी दिनुभयो ।
“जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबुल राख्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, फिडर थप्ने र ट्रिपीङ हुन नदिने उपकरण जडानको काम गरिनेछ,” उहाँले भन्नुभयो “ट्रिपीङका कारण विद्युत आपुर्ति अनियमित हुने समस्यालाई हटाउन यस योजनाले मद्दत गर्नेछ ।”

मिलनचोक, रातोढुङ्गा र घराप सवस्टेशन मार्फत म्याग्दीमा वितरण हुने केन्द्रिय प्रशारण लाइनको कुनै एकठाउँमा समस्या हुँदा सबै ठाउँमा विद्युत आपुर्ति बन्द हुने (ट्रीपीङ)को समस्या छ । विद्युत वितरण प्रणाली सुदृढीकरणका लागि म्याग्दीमा पहिलो पटक पर्याप्त बजेट बिनियोजन गरेर योजना भित्र्याएको राज्यमन्त्री गर्बुजाले बताउनुभयो ।
म्याग्दीको राहुघाट र म्याग्दी नदी वेशिनका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट सवबस्टेशन र प्रशारण लाईनलाई पूर्णता दिन मन्त्रालय तहबाट पहल भएको छ ।
म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र हरिबहादुर भण्डारीको पहलमा तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा शुरु भएको ‘उज्यालो म्याग्दी कार्यक्रम’ मार्फत धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेकका बस्तिहरुमा यस वर्ष केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण गर्ने तयारी छ ।
यस कार्यक्रम मार्फत आर्थिक वर्ष २०८१÷८२ मा आठ सय ७४ र २०८०÷०८१ मा एक हजार चार सय ३८ घरमा विद्युतीकरण भएको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
म्याग्दी बितरण केन्द्र अन्तरगत २३ हजार आठ सय ६९ विद्युतका ग्राहक छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत वितरण हुदै आएको छ ।
