
बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’
केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टाले
फरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’
म्याग्दीको सदरमुकाम बेनीको सडकमा शुक्रबार दिनभर यस्तै गित घन्कियो । गितको भावमा नेवार समुदायको मौलिक पोशाकमा सजिएका कलाकारहरुले धान रोपेको अभिनय सहितको नृत्य प्रस्तुत गरे ।
नेपाल भाषा मंकाःखलः, मैजुःखलः र ल्यामःपुचःको आयोजनामा एक महिने लामो बर्खेनाच अन्तर्गत ‘रोपाइँ नाच’ देखाइएको हो । नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा बस्ति बसेदेखि दुई सय वर्षअघिदेखि शुरु भएको बर्खेनाच अन्तर्गत रोपाइँ नाचलाई पनि निरन्तरता दिएको बताउनुभयो ।



“गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाईको झल्को यस नाचमा प्रस्तुत गरिन्छ,” उहाँले भन्नुभयो “पुरुषले महिलाको पोशाकमा सजिएर असारे गितमा नाच्ने यो नाचको प्रमुख विशेषता हो ।”
गित गाउने र खेतालाको अभिनय सहित नाच्ने करिब ५० जना कलाकारहरु आवश्यक पर्छ । युवा पुस्ताको पलायन र पुराना पुस्ता नासिने क्रमसँगै पछिल्लो समय कलाकार अभाव भएपनि परम्परा र मौलिक संस्कृतिको जगेर्नालाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय महिला र किशोर किशोरीहरुलाई पनि प्रशिक्षण दिएर रोपाई नाचमा सहभागी गराउन थालिएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले बेनीमा जात्राकै रौनक दिने गरेको छ ।
लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने गरिन्छ । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचान हो । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।
