
बेनी, म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकुल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो ।
सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत राजस्व छुट दिने गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीबाट आठ सय ८१ लिखत पारित भएकोमा दुई सय ८० वटा महिलाको नाममा छ ।
घरजग्गा खरिद गरेका महिलाहरुले गत वर्ष रजिष्ट्रेशन शूल्कमा रु. २४ लाख ४८ हजार पाँच सय ३० छुट पाएका कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा दुई सय ४३ जना महिलाले घरजग्गा आफ्नो स्वामित्वमा बनाएका थिए ।

महिलाको आर्थिक स्रोतमा पहुँच बढ्नु, चेतनाको विकास, शसक्तिकरण, पुरुषहरु विदेश गएकाले घरको नेतृत्व महिलाले गर्नु र सरकारले दिने छुट सुविधाका कारण महिलाको नाममा घरजग्गाको स्वामित्व बढेको मालपोत अधिकृत श्रेष्ठले बताउनुभयो ।

गत वर्ष ४१ जना दलित तथा जनजाती, एक जना अपाङ्ग र १२ जना अन्य वर्गकाले घरजग्गा खरिदका लागि छुट पाएका थिए । सबै लक्षित समुदायका तीन सय ३४ जनाले रजिष्ट्रेशन शूल्कमा रु. ३१ लाख ६० हजार आठ सय ८६ छुट पाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल एक लाख सात हजार जनसंख्या रहेको म्याग्दीमा महिला जग्गाधनी नौ दशमलब सात प्रतिशत छन् । ११ दशमलब आठ प्रतिशत महिलाको नाममा घरजग्गा दुवै र दुई दशमलब तीन प्रतिशतको नाममा घर मात्रै छ । कुल जनसंख्या मध्य ५१ दशमलब तीन प्रतिशत महिला र ४८ दशमलब सात प्रतिशत पुरुष छन् ।
घरजग्गा धितो राखेर ऋण लिने बढे
यसैगरी घरजग्गा दृष्टिबन्धक राखेर बैङ्क, वित्तीय र सहकारी संस्थाबाट ऋण लिनेहरुको संख्या पनि उल्लेख्य रहेको मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा कमलप्रसाद मरासिनीले बताउनुभयो । आर्थिक वर्ष २०८१÷०८२मा नौ सय १६ जनाले घरजग्गा रोक्का र एक हजार चार सय १५ वटा फुकुवा गरेका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा आठ सय ५७ जनाले घरजग्गा धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका र एक हजार एक सय ६९ जनाले रोक्का राखेको घरजग्गा फुकुवा गरेका थिए । बैंक, वित्तीय र सहकारी संस्थाहरुमा घरजग्गा धितो राखेर ब्यापार ब्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन, कृषिमा लगानी गर्नेलाई सजिलो भएको छ ।
सात वर्षयताकै धेरै राजस्व संकलन
आर्थिक वर्ष २०८१÷०८२ मा मालपोत कार्यालय म्याग्दीले पछिल्लो सात वर्षयताकै धेरै रु. पाँच करोड ८१ लाख पाँच हजार नौ सय ११ राजस्व संकलन राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा रु. चार करोड ११ लाख १३ हजार सात सय ३२, २०७९÷०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजस्व संकलन भएको थियो । कोरोना कालमा घटेको घरजग्गा किनबेच विस्तारै लयमा फर्किन थालेपछि राजस्व संकलनमा सुधार भएको मालपोत अधिकृत श्रेष्ठको भनाई छ ।
आर्थिक वर्ष २०७८÷७९ मा रु. पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७÷०७८ रु. पाँच करोड ११ लाख तीन हजार छ सय र २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार आठ सय छ राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा रजिष्ट्रेशन शूल्क वापत रु. दुई करोड आठ लाख ८६ हजार दुई सय ७२, पुजिँगत लाभकर शिर्षकमा रु. दुई करोड ३१ लाख ५५ हजार चार सय ४०, न्यायिक दस्तर, दण्ड जरिवाना, रोक्कावापत रु. एक करोड ३९ लाख ८३ हजार सात सय ५६ र सेवाशूल्क र प्रशासनिक दस्तुर शिर्षकमा रु. ८० हजार चार सय ४३ राजस्व संकलन भएको छ ।
