
जोमसोम, । जलवायु परिवर्तनले जल, जमिन र हावामा पारेको असरबाट दिनदिनै पृथ्वीमा समस्या थपिँदै गएकाले यसमा सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन मुस्ताङको घरपझोङ गाउँपालिकाले महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनको योजनामा आउँदो भदौ ३१ गते देशभरका गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित विज्ञहरूको उपश्थितिमा जलवायु सम्मेलन गर्न लागिएको हो ।

‘जलवायु परिवर्तबाट तराईदेखि हिमालसम्म असर पुगेको छ’, अध्यक्ष लालचन भन्नुहुन्छ, ‘त्यसैले हामी मुलुकभरका जनप्रतिनिधिबाट आआफ्नो क्षेत्रमा परेको असर र त्यसको न्युनिकरणका लागि हामीले अपनाउनु पर्ने उपायबारे छलफल गर्नेछौं ।’

जलवायु संरक्षणका लागि सम्मेलनमा उपस्थित सबैले प्रतिबद्धता जनाउनेछन् । सम्मेलनपछि घरपझोङ जलवायु घोषणापत्र जारी हुनेछ । यसबाट संसारको ध्यानाकर्षण हुने आयोजकको विश्वास छ ।
सम्मेलनमा मुलुकभरका ७५३ पालिकाबाट करिब ३ हजार जनप्रतिनिधिको सहभागिता हुने अनुमान गरिएको छ । उनीहरूलाई मार्फा, जोमसोम, स्याङ र ठिनीका होटल तथा होमस्टेमा बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको छ ।
