
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा दोस्रो पृथ्वी स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
ताकम ब्याडमिन्टन समूहको आयोजनामा आगामी भदौ २७ गतेदेखि म्याग्दी जिल्लाभित्रको सि लेभल र गण्डकी प्रदेश भित्रको खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

रु. चार हजार टिम दर्ता शूल्क तोकिएको गण्डकी प्रदेश स्तरीय खुल्लामा प्रथम, दितृय र तृतीयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ५१ हजार, ३१ हजार र १६ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी रु. दुई हजार पाँच सय दर्ता शूल्क रहेको सिलेभल म्याग्दी जिल्ला भित्रको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. ३१ हजार, १७ हजार र दश हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
भविन्द्र पुन संयोजक र विशाल भण्डारी सह–संयोजक रहेको समिति गठन गरेर प्रतियोगिताको तयारी तिब्र बनाएको ताकम ब्याडमिन्टन समूहका अध्यक्ष बालकृष्ण खत्रीले बताउनुभयो । ताकममा दिवंगत खेलाडी पृथ्वी खत्रीको स्मृतिमा समूहले गत वर्षदेखि ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
