
बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङका क्रममा स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले छानविन थालेको छ ।
प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा गठन भएको समितिले छानविन थालेको हो । साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक बेनी नगरपालिका–४ सिंगा तातोपानीका २५ बर्षिय दिनेश मिजारको आँखामा चोट लागेको थियो ।
चेकजाँचको लागि रोक्ने क्रममा स्कुटर चालक मिजारलाई प्रहरीको हातमा रहेको चेकिङ वोर्डले आँखामा चोट लागेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख छ । चेकजाँचको क्रममा घाईते भएका मिजारको तत्कालै बेनी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा स्थित हिमालय आँखा अस्पताल घारेपाटनमा लगिएको थियो ।
पोखराबाट थप उपचारका लागि टिचिङ अस्पताल काठमाण्डौमा लगी आँखाको उपचार गरिएको छ । घाईते स्कुटर चालक मिजारलाई मंगलबार डिस्र्चाज भएर फलोअफका लागि एक सातापछि बोलाएको छ । मापसे गरेर गलत सडक प्रयोग गरेको स्कुटर रोक्न खोज्दा चेकिङ वोर्डले आँखामा चोट लागेको प्रहरीको दाबी छ ।
आँखामा चोट देखिएपछि शल्यक्रिया गरिएको छ । घाईते मिजारको उपचारसँगै छानविन समितिले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गरेपछि दोषी देखिएमा कारबाही गरिने प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो । बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले घाइतेको उपचार र छानविनका लागि पहल गरेको बताउनुभयो ।
