
बेनी, । गण्डकी प्रदेश सरकारले मुस्ताङका दुई वटा कार्यालयलाई म्याग्दीबाट सञ्चालन गर्ने र दुई वटा कार्यालयलाई गाभ्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई गाभेर एकिकृत कार्यालयबाट सेवा दिने निर्णय गरेको हो ।
पोखरामा विभिन्न मन्त्रालय मातहतका सात वटा निर्देशनालय सहित ९ वटा सरकारी निकाय प्रदेश सरकारले खारेज गरेको छ । प्रदेश सरकारको निर्णय अनुसार मुस्ताङमा रहेको कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय गाभिने भएका छन् ।
यसैगरी मुस्ताङमा रहेको सामाजिक विकास र पर्यटन तथा उद्योग कार्यालय पनि म्याग्दीका कार्यालयमा गाभिने प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय गरेको हो । यससँगै १८५ जना विभिन्न तह र पदका कर्मचारीको दरबन्दी कटौती भएको छ ।
प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार मन्त्रिपरिषद्को बैठकले कार्यालय खारेज र गाभ्ने निर्णय गरेको हो । यस निर्णयबाट प्रदेश सरकारलाई तत्काल रु. ५० करोड आर्थिक भार कम हुने मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।
म्याग्दीबाट सञ्चालन हुने मुस्ताङ जिल्ला समेत कार्यक्षेत्र भएका कार्यालयबाट मुस्ताङका नागरिकलाई सेवा लिन कठिन हुने देखिन्छ । बिशेष गरेर उद्योग तथा पर्यटन कार्यालयमा उद्योग, व्यवसाय दर्ता, नविकरणको सेवाका लागि मुस्ताङका नागरिकलाई बेनी आउन समस्या हुने देखिएको छ ।
