
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि सोमबारदेखि बेनीमा घुम्ती शिविर शुरु भएको छ ।
बेनी नगरपालिकाको सभाहलमा सञ्चालन भएको शिविरमा सेवा लिनका लागि बेनीमा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय जनाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।
“हरेक वर्ष भत्ताका लागि वायोमेट्रिक सहित लाभग्राही सूची नविकरण गर्नुपर्ने वाध्यकारी व्यवस्था छ,” उहाँले भन्नुभयो “गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेर नविकरण गर्ने व्यवस्था मिलाएका हौ ।”

बर्खा याममा बाढी, पहिरोको जोखिम र सार्वजनिक यातायात नियमित सञ्चालन नुहने हुँदा बजारका नागरिकहरुलाई गाउँमा पुगेर सेवा लिन समस्या भएको थियो । बेनीमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लमसुङका दिलिप शेरचनले गाउँमा जाँदा हुने समय र खर्चको बचत भएको बताउनुभयो ।


स्वास्थ्यका कारणले बेनीमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–६ का नरमान केसीले घुम्ति शिविरबाट जेष्ठ नागरिक र अशक्तहरुलाई राहत मिलेको बताउनुभयो । धवलागिरी गाउँपालिका ३ का बिरु भण्डारीले घुम्ती शिविरमा आएर बिवाह दर्ता गराउनुभयो । बेनीमा बस्दै आएका भण्डारीले बेनीमै बिवाह दर्ता भएपछि गाउँमा जाँदा हुने खर्च र समय बचत भएको प्रतिक्रिया दिनुभयो ।
यसअघि साउन १८ र १९ गते काठमाडौ, २१ र २२ गते पोखमा भएको घुम्ति शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका थिए । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधी र वडा सचिवहरु सहरमा पुगेर सेवा दिएको बताउनुभयो ।
अध्यक्ष र उपाध्यक्ष पुनद्धयका साथै सात वटै वडाका अध्यक्ष र वडा सचिवहरुले शिविरमा सेवा दिनुभएको छ । गत आर्थिक वर्षमा धवलागिरीका दुई हजार नौ सय ३८ जनालाई रु. १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरीमा ७६ परिवार बसाई गरेर जाँदा १० परिवार आएका थिए ।
