
सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैद
बेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी (किसान)लाई उच्च अदालत पोखराको बागलुङ इजलासले जन्मकैद फैसलाको सजाय सुनाएको छ ।
म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डीतको इजलासले वि.स. २०८१ असार १६ गते जिसीलाई दोषी करार र ३१ गते पाँच वर्ष कैद सजाय र रु. तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बोगटीका परिवारले वि.स. २०८१ कात्तिक ११ गते किसानलाई प्रतिवादी बनाएर उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतका न्यायाधिशद्धय यज्ञबहादुर रानामगर र खड्गबहादुर के.सी.को साउन २० गतेको इजलासले गरेको मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (२) बमोजिम जिसीलाई जन्मकैद (२५ वर्ष)को सजाय र रु. तीन लाख क्षतिपुर्ति भराउने फैसलाको पूर्ण पाठ आइतबार सार्वजनिक भएको हो ।
जिसीले बोगटीलाई कर्तब्य गरी मारेको पुष्टि भएपनि उक्त वारदातलाई वारवाहीपुर्वक घटेको घटनाको संज्ञा दिई मुलकी अपराध संहिता, २०७४ को दफा १८१ (१) अनुसार कैद र क्षतिपूर्ति भराउने म्याग्दी जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिंदा (उल्टी) बदर गरेको उच्च अदालतको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
बोगटीका परिवार र आफन्तले जिल्ला अदालतको चित्त नबुझ्दो फैसलालाई उच्च अदालतको बागलुङ इजलासले सच्चाएको र फैसलाबाट न्यायको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । बेनीमा फेन्सी ब्यवसाय गर्ने ४० वर्षीय बोगटी २०७९ चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा मृत अवस्थामा फेला गर्नुभएको थियो । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
छिमेकी रहेका बोगटी र जिसी चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।
रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेजको पनि सहयोगमा प्रहरीले अनुसन्धान गरेको थियो । २०८० वैशाख २७ गते तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसीलाई पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान गरिएको थियो ।
