
बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् ।
जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी देखि घाँसा सम्मको सडकमा साँझ छ देखि बिहान पाँच बजेसम्म सवारी आवत जावत बन्द गरिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मको लागि सडकमा सवारी आवत जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्षातको समयमा पहिरोको जोखिम भएकाले रातीको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरी चौकी मार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताउनुभयो ।
रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ । कालीगण्डकीको कटान र माथिबाट खस्ने पहिरोले सडकमा गुडिरहेका सवारी साधनमा क्षति पुग्ने, यात्रुहरु घाइतेहुने जोखिम छ ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सडक विभागको हेभी इक्युभमेन्ट परिचालन गरेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ ।
