धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

सन्तोष गौतम

बेनी, धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ ।

पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दु धर्मग्रथहरुमा हम्पाल, कालञ्जर, मृगस्थलीको रुपमा ब्याख्या गरिएको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले जलजला ओझेलमा परेको हो ।

Shreekrishna

हिन्दुधर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रशंग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्रा. डा जगन्नाथ रेग्मीले बताउनुभयो ।

“पौराणीक वाङमयले मुक्तकण्ठले प्रशंसा गरेको कालञ्जरको मुख्य केन्द्र विकासका दृष्टिले अझै पनि पछाडी पर्नुमा प्रचारप्रसारको अभाव, दुर्गम भौगोलिक अवस्थिति, सडक यातायातको असहजता, मानव बस्ति देखि टाढा रहनु, प्राकृतिक, भौगोलिक एवम् पौराणीक पहिचानका अभिलेख र स्रोतबाहेक कुनै लिखित दस्तावेज नपाइनु लगायतका कारणहरु देखिएका छन,” उहाँले भन्नुभयो “यहाँका कतिपय प्राचीन मन्दिर, सत्तल गुफा र ओढारहरु संरक्षणको अभावमा नामशेष हुन लागेका छन् ।”

default

प्रा.डा. रेग्मीका अनुसार धार्मिक ग्रन्थहरुमा जलजला क्षेत्रलाई ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडिवुटी औषधीको रुपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरुले सद्गति प्राप्त गर्ने धार्मिक ग्रन्थहरुमा बताइएको छ ।

जलजलामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मोदी गाउँपालिका–४ लेसपारका टिका पुनले जलजलाको सौन्दर्य र धार्मिक महत्व स्थानीय स्तरमै सिमित हुँदा पर्यटक तथा भक्तजनको आगमन हुन नसकेको बताउनुभयो ।

“शरद र बसन्तयाममा फाट्टफुट्ट पदयात्री तथा महायज्ञ सञ्चालन भएको समयमा भक्तजनहरु आउनुहुन्छ,” उहाँले भन्नुभयो “अन्य समयमा जलजला सुनसान हुन्छ ।” समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दुई दशकअघिसम्म जलजला र मोदी गाउँपालिकाका बासिन्दाले यहाँ बर्खामा गाईभैसीको गोठ लैजाने गर्दथे । पछिल्लो समय गोठ लैजाने चलन हराएको छ । जलजलादेखि १० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने वाइफाई डाडाबाट अन्नपूर्ण र ३० मिनेटको पदयात्रामा पुगिने माटेको लेकबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ ।

हिमशृङखलाको साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामिण बस्ति तथा पहाडहरुको मनमोहक दृष्य अवलोकन गर्दा यात्राको थकान मेटिने कुश्माबाट जलजला घुम्न आउनुभएका गोविन्द शर्माले बताउनुभयो । बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिम्मुर, सिल्टिम्मुर लगायत जडिवुटी पाइने जलजला जैविक बिविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदी पंक्षीहरु अवलोकन गर्न पाइन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजा तर्फबाट जलजलासम्म कच्चि सडक पुगेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

“विद्युत सुविधा पु¥याइएको जलजलाको धार्मिक महत्वको उजागर गराउन महायज्ञ सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “संघीय सरकारले जलजलाको पर्यटन पूर्वाधारका लागि रु. तीन करोड बजेटको योजना कार्यान्वयनको तयारी गरेको छ ।”

बेनी देखि लेकफाँटसम्मको सडक हालै कालोपत्र भएको छ । लेकफाँट देखि शालिजा हुदै जलजला जोड्ने सडक स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारसँग माग गरेको गाउँपालिकाका उपाध्यक्ष आचार्यले बताउनुभयो ।

प्रदेश सरकारले माटेको लेकदेखि जलजला जोड्ने पदमार्ग र वाइफाइ डाडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरुको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मुस्ताङ र मुक्तिनाथ जाने आउने तिर्थयात्रीहरुलाई जलजलामा भित्र्याउने लक्ष्य सहित धाइरिङको भूमेथानमा पूर्वाधार निर्माण थालिएको, गौशाला सञ्चालन गरिएको र त्यहाँ देखि जलजला, फलामेडाडा, मल्लाज, राममन्दिरलाई समेटेर धार्मिक कोरिडोरको अवधारणा अघि सारिएको बताउनुभयो ।

सडकका कारण छोटिएको अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउन घोडेपानी–मोहरेडाडा–जलजला–माटे– मोदी र बनौ–कुश्मा जोड्ने पदमार्गमा पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जोड दिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...