
गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ ।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको सोमबारका दिन विशेष पुजाआजा हुने गर्छ ।
पश्चिमको पशुपतिनाथ र हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा परिचित गलेश्वरमा साउन महिनाको सोमबार ब्रत बसेर पुजाआजा र दर्शन गर्नाले शौभाग्य, दिर्घायु, पारिवारिक सुख र मनोकाक्षा पुरा हुने धार्मिक विश्वास छ ।


हिन्दुधर्मग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पात्र सतिदेवीको गला पतन भएकाले यो ठाउँको नाम गलेश्वर रहन गएको किम्बदन्ती छ । यहाँ शिव, राधाकृष्णको मन्दिरका साथै एक सय आठ शिवलिङ्ग र कालीगण्डकीको पानीले धारामा स्नान गर्ने सुविधा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
पुजाआजाका लागि म्याग्दी, पर्वत, बागलुङका साथै देशभरबाट भक्तजनहरु आएका छन् । गत हप्ता झरीका कारण भक्तजन आगमनमा कमि आएको थियो । आज झरि नपरेकाले भक्तजन आगमन बढेको र पुजा व्यवस्थापनमा पनि सहज भएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको चहलपहलसँगै गलेश्वर बजारको ब्यापार ब्यवसाय वृद्धि भएको छ । दोवा र दग्नामका कृषकले डौडे (निउरो) र टुसा बिक्री गर्न गलेश्वर आएका छन् ।
पुजालाई व्यवस्थित बनाउन जिल्ला प्रहरी, शसस्त्र प्रहरी, बेनी नगरपालिकाको नगर प्रहरी, म्याग्दी बहुमुखी क्याम्पस लगायत शैक्षिक संस्था, युवा क्लव र आमा समूहका स्वमसेवक परिचालन भएका छन् । यस वर्षको साउन महिनामा चार वटा सोमबार परेको छ ।

