
बेनी । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै म्याग्दीको धवलागिरी गाउँपालिका सहर छिरेको छ ।
काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार घुम्ति शिविर आयोजना गरेर धवलागिरीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण गरिएको हो । शिविरमा जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा पनि दिइएको थियो ।
धवलागिरी गाउँपालिका समाजसँगको सहकार्यमा घुम्ति शिविर आयोजना गरिएको शिविरमा एक सय जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ताको नामावली नविकरण भएको धवलागिरी गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।

“हरेक वर्ष भत्ताका लागि वायोमेट्रिक सहित लाभग्राही सूची नविकरण गर्नुपर्ने वाध्यकारी व्यवस्था छ,” उहाँले भन्नुभयो “गाउँपालिकामा नाम भएपनि सहरबजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेर नविकरण गर्ने व्यवस्था मिलाएका हौ ।”

१ देखि ७ नम्बर वडाका क्रमश ः १५, एक, १५, दुई, १०, २८ र ३१ जनाले शिविरबाट सेवा पाएका छन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधी र वडा सचिवहरु सहरमै सेवा दिएको बताउनुभयो । पोखरामा बसोबास गर्ने लाभग्राहीहरुलाई लक्षित गरेर साउन २० र २१ गते पोखराको नदीपुर स्थित छन्त्याल समाजको भवनमा घुम्ति शिविर आयोजना गरिएको छ ।
धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्री र वडा सचिव तमबहादुर गोतामेले अघिल्लो वर्ष काठमाडौ र पोखरामा पुगेर घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता पाउनेहरुको नामावली नविकरण गर्नुभएको थियो । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा र वडा सचिवले पनि केही दिनअघि पोखरामा पुगेर नविकरण गरिदिनुभएको थियो ।

गत आर्थिक वर्षमा धवलागिरीका दुई हजार नौ सय ३८ जनालाई सामाजिक सुरक्षा वापत्र रु. १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरीमा ७६ परिवार बसाई गरेर जाँदा १० परिवार आएका थिए ।
शिविरमा धवलागिरीका अध्यक्ष, उपाध्यक्ष, सात वटै वडाका अध्यक्ष र सचिवहरुले सेवा दिनुभएको थियो । सामाजिक सुरक्षा भत्ताको नविकरणको साथै गंगालाल हृदयरोग उपचार केन्द्रको प्राविधिक सहयोगमा निशूल्क मुटुरोग उपचार सम्बन्धी सेवा पनि दिइएको थियो ।

केन्द्रका प्रमुख डा. रवी मल्लको नेतृत्वमा रहेको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो । एक सय छ जनाले मुटुरोग उपचार सम्बन्धी सेवा लिएका धवलागिरी गाउँपालिका समाज काठमाडौका प्रमुख सल्लाहकार दिप छन्त्यालले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले सम्बृद्ध धवलागिरी निर्माणमा जनप्रतिनिधीको हैसियतमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
शनिबार काठमाडौमा बसोबास गर्ने धवलागिरीबासी र जनप्रतिनिधीहरुबीच गाउँपालिकाको समस्या, अवस्था र भावी योजनाका विषयमा अन्तरक्रिया भएको थियो । कृषि र पर्यटनका विषयमा प्राध्यापक याम पुन, शिक्षाका विषयमा एञ्जल हार्ड स्कुलका प्रिन्सीपल धनबहादुर पुन र उर्जाको विषयमा दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियामा भएका छलफलका विषयहरुलाई समेटेर ८० बुदे प्रतिवद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष र धवलागिरी गाउँपालिका समाज काठमाडौका अध्यक्ष लिलबहादुर पुनले हस्ताक्षर गर्नुभएको छ । समाजका वरिष्ठ उपाध्यक्ष यामलाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव मेजरमान छन्त्यालले गर्नुभएको थियो ।
