
बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले नियम अनुुसार प्रअ नियुक्त गर्न स्थानीय तह र विद्यालयहरुलाई बिहिबार पत्राचार गरेको छ ।
शिक्षा नियमावली २०५९ (संसोधन सहित)को परिच्छेद १७, नियम ९३ अनुुसार एक पटकमा पाँच वर्षमात्र प्रअ हुन पाउने र पदावधी सकिएपछि पुुनःनियुुक्ती गर्नुपर्ने व्यवस्था छ । तर म्याग्दीका कतिपय विद्यालयहरुमा पुुननियुक्ती नगरि एकै जनालाई बर्षौसम्म प्रअ बनाएको र बरिष्ठलाई अवसर नदिई कनिष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिएको गुनासो छ ।

नियमावलीमा भएको ब्यवस्था अनुुसार प्रअ नियुक्त गर्नका लागि इकाईका प्रमुख बिदुर शर्मा चापागाईले म्याग्दीका छ वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा पत्राचार गर्नुभएको हो ।

सामुदायिक विद्यालयमा नियम विपरित प्रअ नियुक्त गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साउन ७ गते देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको थियो ।
