
बेनी, म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडेले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।
केही बर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने डौडे बिक्री हुन थालेपछि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि डौडेले बजार पाएको बताउनुभयो ।
“बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङगलबाट टिपेर ल्याएको डौडे गाडीवालालाई बेच्छन्,” उहाँले भन्नुभयो “गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउछन् ।” दोवामा डौडेबाट वार्षिक रु. २५ देखि ३० लाख नगद भित्र्ने गरेको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।


दोवाकी डौडे संकलक मायाकुमारी पुनले प्रतिकिलो रु. ६५ देखि ७० मा गाउँबाटै डौडे बिक्री हुने गरेको बताउनुभयो । “कुहिएर खेर गइरहेको डौडे हाम्रा लागि आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो “फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौ ।”
दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक पाँच सय किलोग्राम डौडे बेनीमा ल्याउने गरेका ब्यापारीहरुले बताएका छन् । बेनीका तरकारी तथा फलफुल ब्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने डौडे बागलुङ, कुश्मा र काठमाडौ पठाउने गरेको बताउनुभयो ।
“बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु. एक सय देखि रु. एक सय २० सम्म पर्छ,” उहाँले भन्नुभयो “गत वर्ष दैनिक एक हजार किलोग्राम डौडे आउने गरेको थियो । यसपाली गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै डौडे आएको छ । माग धान्न सकिएको छैन् ।”
समुद्री सतहदेखि एक हजार पाँच सय देखि दुई हजार पाँच सय मिटर उचाईको ओसेपिलो ठाउँमा बर्खा यामडौडे प्राकृतिक रुपमा उम्रन्छ । डौडेको मुना छिप्पीएपछि सोत्तर हुन्छ । मुना अवस्थाको डौडेलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ ।
यो एक जैविक तरकारी समेत हो । डौंडे टुसा पलाएको चार÷पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ । डौंडे र निउरोमा एन्टीअक्सिडेन्ट पाइने भएकोले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले डौडेको तरकारी र अचार पाहुनाले रुचाउने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने डौडेमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि डौडे निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताहरुको अनुभव छ ।
