
बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम थालेको हो ।
गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१÷०८२ मा एक÷एक वटा सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउन छनौट गरेको थियो ।

म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्व– पिप्ले– भगवति हुदै बेग र भगवति–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु. पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो ।
गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्ट्रक्सनबीच रु. चार करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधी १८ महिना छ । कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताउनुभयो ।


भगवतिको जैसीखोरदेखि सिजलगाउँ हुदै बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।
यसअघि गलेश्वर–पिप्ले–भगवति–बेग सडक अन्तर्गत पिप्ले–भगवति खण्डमा करिब छ किलोमिटर सडक कालोपत्र भएको थियो । करिब १५ वर्षअघि मार्ग खुलेको यो सडक करिब चार देखि पाँच मिटर फराकिलो छ ।
योजना मार्फत कम्तिमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ । यो सडकबाट रघुगङ्गा गाउँपालिकाको वडा नं–१ बेग र २ नम्बर वडा भगवतिका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
पर्यटकीय स्थल रुइसे र भेडीओडार भ्रमणमा जाने पर्यटकलाई पनि सहज हुने उहाँले बताउनुभयो ।
