
बेनी, मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका विक्रम अधिकारीको उपचारका लागि मंगलबार बेनीमा घरदैलो गरिएको छ ।
मल्लाज र बेनीका युवाहरुको अगुवाईमा घरदैलो गरेर रु. ६७ हजार आठ सय ७५ संकलन भएको हो । बेनीमा म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयू सभापति संगम चोखाल र राइडर बिनिता कार्कीले टोलीलाई सघाउनुभएको थियो ।
गत असार २६ गते मल्लाजमा मोटरसाइल दुर्घटनामा परी गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरामा उपचाररत विक्रमको थप उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान सञ्चालन भएको छ ।


बिक्रमको आइसियुमा उपचार भइरहेको छ । अभियानमा आएको मल्लाज साइड दरबारको टोलीले बेनीमा संकलन भएको रकम बिक्रमका आफन्तलाई उपलब्ध गराउने र पर्वत बेनी तथा मल्लाजमा पनि घरदैलो गरेर सहयोग जुटाउने जनाएका छन् ।

‘हाम्रो घरको आर्थिक अवस्था कमजोर छ, आमा बुवा अपाङ्गता हुनुहुन्छ, छोराहरु साना छन् । उपचारका लागि हामीसंग भएको, हामीलाई पारिवारीक रुपमा सहयोग प्राप्त भएको सहयोग रकम समेत सकिएका कारण थप उपचार गर्न समस्या भएको छ,’ बिक्रमकी श्रीमति अनिताले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘दुर्घटनामा परी उपचाररत रही पटक पटक टाउकोमा विभिन्न अप्रेसन गर्नु पर्ने अवस्थाका कारण थप उपचारका लागि रकम अभाव भएकाले सम्पूर्ण शुभचिन्तक, आफन्तजन एवं देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’
घाइते अधिकारीको उपचारमा सहयोगका लागि जलजला गाउँपालिका कार्यालय, जलजला गाउँपालिका वडा नं. २ को कार्यालय र गण्डकी मेडिकल कलेज, हिम सुसेली युथ क्लव जलजला–३ मल्लाज लगायतले आव्हान गरेका छन् । आनन्द अधिकारी, लाल बहादुर अधिकारी, कमल अधिकारी लगायत अगुवाहरुको सहयोग र सक्रियतामा हालसम्म उपचार भैरहेको र थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगका लागि अनुरोध गरिएको अनिताले बताउनुभयो । आर्थिक सहयोग गर्न चाहनेहरुका लागि रमा थापा अधिकारीको ग्लोवल आइएमइ बैंकको क्यूआरकोड सहितको बैंक खाता दिइएको उहाँले जानकारी दिनुभयो ।
