
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।
मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
ती आयोजनाहरुबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुुम्पीपारका ५३ घर परिवार लाभान्वित भएका मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।

रु. दुई करोड १४ लाख को लागतमा निर्माण भएका तिन वटै योजनाको आइतबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । आयोजनाहरुको सामाजिक परिक्षण पनि गरिएको छ ।


नेवाको रु. ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु. १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको पात्लेको योजना निर्माणका लागि उपभोक्ताले रु. १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् ।
मालिका गाउँपालिकाको रु. २४ लाख ८५ हजार पाँच सय ९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा) को रु. ५६ लाख एक हजार तीन सय ६६ अनुदान तथा उपभोक्ताहरुको रु. २९ लाख १३ हजार एक सय २४ को लागतमा डाडागाउँ बोक्रे खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना निर्माण भएको हो ।
(नेवा)को रु. १७ लाख ७४ हजार सात सय २९, मालिका गाउँपालिकाको रु. नौ लाख ९५ हजार पाँच सय नौ र उपभोक्ताको रु. ११ लाख ५३ हजार दुई सय ५० बराबरको श्रमदानमा लुक्सीपार पौठेखोला खानेपानी योजना निर्माण भएको हो ।
सर्वसाधारणका घरका साथै स्वास्थ्य संस्था र विद्यालयमा पनि खानेपानी धारा जडान गरिएको छ । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झञ्जट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका बलबहादुर रोकाले बताउनुभयो ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । पानीको मितब्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङ समेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाई तथा स्वच्छता उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताउनुभयो ।
