
बेनी, म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरुको श्रमदानबाट निमाण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।
रु. ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडा अध्यक्ष टंकप्रसाद पुनले जानकारी दिनुभयो । उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिक स्थलमा थप सात वटा धारा जडान भएको छ ।

टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइपलाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटी लगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो ।


‘‘३७ वर्ष अघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्जट हटेको छ ।”
पुरानो आयोजनाका संरचनाहरु जिर्ण हुदा खानेपानी आपुर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा नआउँदा उपभोक्ताहरुले कुवा र खोल्साबाट गाग्री, ग्यालीन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे ।
खानेपानीका धारासँगै भाडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितब्ययी र व्यवस्थित तथा दिर्घकालिन प्रयोगका लागि धारामा मिटर जडान गरेर शूल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताउनुभयो ।
नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु. ६४ लाख र उपभोक्ताको रु. ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलहरुमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए ।
