
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स. २०८० असोज २६ गते सम्झौता गरेको बि.एम.के. कोण्डा जेभीले ठेक्का अवधीभित्रनै पुल, दुईतर्फ पहुँचमार्ग र दायाबायाँ फुटपाथ निर्माण गरेको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।
पहुँचमार्गलाई पूर्णता दिन, अन्तिम मुल्याङ्कन र ठेक्का टुङ्गाउन भने बाँकी छ । यो पुुलबाट मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडकमा बर्खायाममा पनि सिधा यातायात सञ्चालन गर्न सहज भएको बताउनुभयो ।


“बर्खायाममा दाजुङखोलामा बाढी आउँदा सिधा सवारी आवत जावत बन्द हुने गरेको थियो,” उहाँले भन्नुभयो “पुल बनेपछि बर्खामा गाडी परिवर्तन र हिउँदमा खोलामा सवारी साधन तारेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ ।”

आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ मा रु. ५०÷५० लाख बजेट बिनियोजन गरेर गण्डकी प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन् ।
म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले वि.स. २०८० जेठमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गराएर वार्षिक योजनामा समावेश हुन थालेको तीन वर्षपछि उक्त पुलको ठेक्का र निर्माण प्रक्रिया अघि बढाउनुभएको थियो । पुल निर्माणका लागि रु. पाँच करोड चार लाख ३७ हजार लागत अनुमान गरिएको थियो ।

यसैगरी प्रदेश सरकार मार्फत सञ्चालित दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक योजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ असार १४ गते एपिसी÷आरआरसी÷पिएनएस जेभीले रु. पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको गरेको थियो ।
यो योजनाका लागि प्रदेश सरकारले रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । यस आयोजना मार्फत मालिका गाउँपालिका –३ अदिभारा देखि स्याकलुङ, औला क्षेत्रमा तीन किलोमिटर सडक फराकिलो पार्न, टेवा पर्खाल र नालि निर्माण गरि ढलान गर्ने योजना छ ।
मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारले बुर्तीवाङ र तमानखोला तर्फबाट पनि आयोजना सञ्चालन गरेको छ ।
