
प्रकाश पौडेल
मेरो आदर्श, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू,
आज मनमा शब्दहरूभन्दा धेरै भावनाहरू छन्, र ती भावनाहरू पोख्न म सामाजिक सञ्जालको सहारा लिँदैछु । आज म यहाँ कुनै पद हार्दाको पीडा सुनाउन आएको होइन, बरु एउटा निष्ठावान कार्यकर्ताको मनमा लागेको गहिरो चोट र उसले आफ्नो आदर्शसँग सोध्न चाहेको एउटा प्रश्न लिएर आएको छु ।
मलाई २०६४ सालको त्यो अँध्यारो समय राम्रोसँग याद छ । जब हाम्रा कार्यकर्ताहरूमाथि खुल्लमखुल्ला आक्रमण हुन्थ्यो, जब हामी निरीह र भयभीत थियौँ, त्यतिबेला त्यही अन्धकारलाई चिर्दै एउटा आशाको किरण बनेर तपाईंको नाम गुन्जिएको थियो केपी शर्मा ओली ! त्यही एउटा नामले म जस्तो किशोरको मनमा एउटा अमिट छाप छोड्यो नेता यस्तो हुनुपर्छ ! जो सत्य बोल्छ, जो अन्यायसँग लड्छ ! त्यही दिनदेखि तपाईं मेरो आदर्श बन्नुभयो ।
त्यही आदर्शको पछि लाग्दा मैले के–के भोगें, त्यसको हिसाबकिताब कहिल्यै राखिनँ । म्याग्दीको गाउँबाट पैसा उठाएर, भोकै पेट, तपाईंको एउटा आवाज सुन्न पोखरासम्म आउनु मेरा लागि तीर्थयात्रा जस्तै थियो । जब–जब संगठनभित्र तपाईंको पक्षमा बोल्दा ममाथि घेराबन्दी हुन्थ्यो, मलाई अपमानित गरिन्थ्यो, मैले त्यसलाई तपाईंको विचारको लागि चुकाएको सानो मूल्य सम्झिएँ । २०६७ होस् वा २०६९, २०७२ सालको महाधिवेशन, म तपाईंको विचारको झण्डा बोकेर लडिरहें ।
जब पार्टी एकताको नाममा नेकपालाई कब्जा गरेर हाम्रो सूर्यलाई निल्ने षड्यन्त्र भयो, जब तपाईंमाथि चारैतिरबाट घेराबन्दी भयो, त्यतिबेला धेरै ठूला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए । तर म, तपाईंको एउटा सामान्य सिपाही, तपाईंको रक्षाको लागि सडकमा थिएँ । गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईंको पक्षमा गर्जिरहेको थिएँ । त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो ।

र आज… आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ । मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ । केवल तपाईंले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ ।
त्यसैले आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो ? के कार्यकर्ताको माझमा जानु पाप हो ? ७ मतले हार्नु मेरो भाग्य होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरें । तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट “असन्तुष्ट” र “हारेकाहरू” भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू… छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ… मुटु छियाछिया हुँदो रहेछ । हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौं गुणा गहिरो हुँदो रहेछ ।

हामीलाई थाहा छ, तपाईंलाई एउटा सिमित घेराले भ्रममा पारेको छ । तपाईंको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईंलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ । त्यो घेराले तपाईंलाई एउटा यस्तो कथा सुनाउँछ, जहाँ प्रश्न सोध्नेहरू शत्रु हुन्, प्रतिस्पर्धा गर्नेहरू विद्रोही हुन् र मौन बस्नेहरू मात्र भक्त हुन् । उनीहरू तपाईं र हामीजस्ता कार्यकर्ताको बीचमा एउटा खाडल खनेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन् ।
तर म आज यही मञ्चबाट, त्यो घेरालाई चुनौती दिँदै भन्न चाहन्छु— तपाईं हाम्रो टावर नेता हो ! हाम्रो अभिभावक हो ! हाम्रो लडाइँ तपाईंको विरुद्धमा होइन, बरु तपाईंलाई त्यो भ्रमको पर्खालबाट बाहिर निकाल्नको लागि हो । हाम्रो संघर्ष तपाईंलाई कमजोर बनाउन होइन, तपाईंलाई कार्यकर्ताको शक्तिसँग जोडेर अझ शक्तिशाली बनाउनको लागि हो ।
अन्त्यमा, म प्रकाश पौडेल, आज सबैको सामुन्ने एउटा प्रण गर्छु ।
मलाई कुनै पद चाहिँदैन मलाई कुनै प्रतिष्ठा चाहिँदैन । मलाई त केवल देशको निम्ति हाम्रो सफल योगदान र समर्पण दिन यो पार्टी चाहिन्छ, सूर्य अंकित झण्डा चाहिन्छ र तपाईंले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपना चाहिन्छ ।
जसले जेसुकै भनोस्, म यहीँ छु, यहीँ रहन्छु ! यही माटोमा लड्छु र यही माटोमा मर्छु ! तर पार्टी र विचारको लागि लड्न कहिल्यै छोड्दिनँ । मेरो रगत र पसिनाको हरेक थोपा यो पार्टीको लागि समर्पित छ । तपाइँले भन्नुहुन्छ सत्य संग नलडने शक्ति संग नझुक्ने ।
म्याग्दीका पौडेल अनेरास्ववीयुको पछिल्लो महाधिवेशनमा अध्यक्ष पदको उमेद्वार बन्नुभएको थियो ।
