
बेनी, म्याग्दीका जनप्रतिनिधी र राजनीतिकदलहरुले बेनीबाट पोखरामा गाभिएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय पुनःस्थापनाका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)को नेतृत्वमा नेपाली काँग्रेस, एमाले लगायत राजनीतिक दल, जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीलगायत स्थानीय तहका जनप्रतिनिधीहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ध्याकर्षण गराएका हुन् ।
खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिएको छ । गत असार ३१ गते बेनी स्थित आयोजनाको कार्यालयमा तालाबन्दी गरेका सर्वदलीय टोलीले प्रधानमन्त्रीका साथै खानेपानी मन्त्री प्रदिप यादव र अर्थमन्त्री बिष्णु पौडेललाई पनि भेटेर कार्यालय पुनस्थापनाको माग गरेका छन् ।

प्रधानमन्त्री र विभागीय मन्त्रीबाट कार्यालय पुनस्थापनाका लागि सकारात्मक प्रतिक्रिया पाएको राज्यमन्त्री गर्बुजाले बताउनुभयो । टोलीमा पुर्वमन्त्री थममाया थापा, नरदेवी पुन, संविधानसभा सदस्य नवराज शर्मा, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मालिकाका पुर्व अध्यक्ष तथा राज्यमन्त्री गर्बुजाका स्वकीय सचिव श्रीप्रसाद रोका लगायत सहभागी हुनुहुन्थ्यो ।


म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा संघीय सरकारले सञ्चालन गरेका खानेपानी तथा ढल ब्यवस्थापन सम्बन्धी आयोजना कार्यान्वयनका लागि वि.स. २०७७ मा बेनीमा कार्यालय स्थापना भएको थियो ।
कार्यालय स्थापना भएको पाँच वर्षपछि म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला र चिमखोला–पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन शुरु भएको छ । कार्यालय पोखरामा सारिदाँ ती आयोजना कार्यान्वयनमा समस्या भएको काठमाडौमा रहेको सर्वदलीय टोलीमा सहभागी नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।
वि.स. २०७४÷०७५ मा तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खारेज भएपछि म्याग्दीका धेरै खानेपानी आयोजना अलपत्र भएका थिए । कार्यालय पोखरा सार्न नहुने माग सहित नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपाका नेता र स्थानीय तहका जनप्रतिनिधीहरुले बेनी स्थित कार्यालयमा गरेको ताला अझै खुलेको छैन् ।
