
बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ ।
म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिर सम्म ३३ किलोमिटर मध्य २६ किलोमिटरमा कालोपत्र र ढलान भएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले जनाएको छ ।
योजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईले पहिरो र कटानको समस्या रहेको सात किलोमिटर बाहेकका ठाउँमा सडक ढलान र कालोपत्र भएको जानकारी दिनुभयो । “निर्माण कम्पनीहरुले सम्झौता अनुसार परिणामको काम सकेकाले ठेक्का टुङ्ग्याउने तयारीमा छौ,” उहाँले भन्नुभयो “पहिरो र कटानको समस्या भएको ठाउँमा नयाँ ठेक्का प्रक्रीयाबाट सडक स्तरोन्नतिको प्रक्रीया अघि बढेको छ ।”

बेनी देखि मुस्ताङको घाँसासम्मको सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्र गर्न वि.स. २०७४ मा ठेक्का सम्झौता भएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटर मध्य १५ किलोमिटर कालोपत्र भएको छ ।

तिल्केनी–घुमाउनेताल–चमेरे खण्डमा थप करिब पाँच सय मिटर कालोपत्र गर्न तयारी अवस्थामा रहेको शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताउनुभयो । भिओ (भेरियसन अर्डर) गर्दा सम्झौता भएको रु. ६६ करोडमा २० प्रतिशत लागत बढेको छ ।

शर्मा–गजरमुखीले ठेक्का लिएको नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलब पाँच किलोमिटर मध्य ११ किलोमिटर कालोपत्र र ढलान भएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । तीन किलोमिटर मुस्ताङमा र बाँकी म्याग्दीमा पर्ने यो खण्डको रु. ६३ करोडमा ठेक्का सम्झौता भएको थियो ।
बेनीको कालीपुलमा आठ सय मिटर यसैबर्ष, बेनी–गलेश्वर दुई किलोमिटर आठ सय मिटर गत वर्ष र गलेश्वरको एक किलोमिटर तीन सय मिटर सडक दुई वर्षअघि कालोपत्र भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा शुरु भएको सडक स्तरोन्नतिको काम आठ वर्षपछि सम्पन्न हुने चरणमा पुगेको हो ।
प्रतिकुल भूगोल, कोरोना महामारी, बाढी पहिरो, नदिजन्य निर्माण सामग्री र निर्माण ब्यवसायीको समस्याका कारण लक्ष्य भन्दा पाँच वर्ष ढिलागरि सम्पन्न हुन लागेको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।
“पहिरो र कटान प्रभावित ठाउँमा रोकथामका साथै सडक स्तरोन्नतिका लागि छुट्टै ठेक्का मार्फत काम गराउन पहल गरेका छौ,” उहाँले भन्नुभयो “बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा यात्रा गर्न यसअघि चार देखि पाँच घण्टा लाग्ने गरेकोमा अहिले एकै घण्टामा छोटिएको छ ।”
अन्नपूर्ण गाउँपालिका–३ रुप्से र लाटोखोला क्षेत्रको एक किलोमिटर ढलान, गुइठे, खामभित्ता क्षेत्रको पहिरो रोकथामका लागि ठेक्का आव्हानको तयारी भएको योजना कार्यालयले जनाएको छ । वि.स. २०६४ मा मार्ग खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ ।
म्याग्दीको राहुघाट, बेगखोला, महभिर र पोखरेबगर स्थित कालिगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएको छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ ।
पर्वतको मालढुङ्गाबाट म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ ।
