
बेनी ः म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा बर्खाको अवधीभर रातको समयमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक माथिबाट पहिरो तथा ढुङगा खस्ने जोखिम भएकोले रातको समयमा यात्रा नगर्न आग्रह गरेको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले दुर्घटनाको जोखिम भएकाले दिउसोको समयमा यात्रा गर्दा सावधानी अपनाउन र रातको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न यात्रु तथा यातायात ब्यवसायिहरुलाई अनुरोध गरिएको बताउनुभयो ।

स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डको बैसरी, कुनौटा, रिठाबोट, चमेरे, नागढुङ्गा, भुरुङभिर, टिम्मुरेभिर, गुइठे, खामभित्ता, लाटाखोला, काभ्रे, घोप्टेभिर, लेतेखोला, खहरेखोला, बादरजुङ भिरमा पहिरो, कटान र रकफलको समस्या छ ।

विगतका वर्षमा बर्खायाममा सवारी साधन गुडीरहेको अवस्थामा पहिरो, ढुङ्गा खसेर मानवीय क्षति हुने, सवारी साधनमा क्षति पुग्ने गरेकाले सावधानी अपनाउन अनुरोध गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
