
बेनी, ः भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा पशुपंक्षी र माछापालक कृषकहरुलाई रु. ३८ लाख अनुदान वितरण गरेको छ । ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत रु. ३८ लाख सत्तरी हजार ७५ अनुदान पाएका हुन् ।
केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँस खेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।
सार्वजनिक सूचना मार्फत लाभग्राहीको आवेदन संकलन, स्थलगत मूल्याङ्कन, मापदण्डको आधारमा छनौट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उहाँले बताउनुभयो ।

घाँस खेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फार्मलाई रु. चार लाख २२ हजार सात सय ९०, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आवद्ध गाईभैसीपालक किसानहरुलाई दूध उत्पादनमा आधारित रु. नौ लाख ९९ हजार नौ सय ८० वितरण गरिएको छ ।

छ वटा फार्मलाई कृषि ब्याजमा रु. ९९ हजार नौ सय ६०, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाछी हुर्काएका १४ फार्म तथा किसानलाई रु. दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रम मार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमुना कृषक समूहले रु. पन्ध्र लाख अनुदान पाएका छन् ।
तीन÷तीन वटा फार्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि रु. ८५ हजार दुई सय १५ र रु. एक लाख ५८ हजार एक सय ३० तथा अन्नपूर्ण गाउँपालिका–५ को चौरी श्रोत संरक्षण तथा प्रर्वद्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि रु. तीन लाख ८४ हजार उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार छ सय ५१ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । १० हजार नौ सय ८१ घरधुरी कृषक लाभान्वित भएका उहाँले बताउनुभयो ।
१० हजार एक सय आठ गाई÷गोरु, १६ हजार दुई सय ८६ भैसी÷रागो र दुई सय ८७ बंगुरलाई खोरेत विरुद्धको एफएमडी खोप लगाइएको छ । पाँच हजार तीन सय ३७ पशुलाई लम्पी स्किन र तीन हजार तीन सय ९७ कुकुर र बिरालोलाई रेबीज विरुद्धको खोप लगाइएको छ । ४१ हजार सात सय १३ बाख्रा र ११ हजार एक सय २९ भेडालाई पि.पि.आर विरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताउनुभयो ।
