
बेनी, ः कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध भएको छ ।
सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय पोखराले लामगरा स्थित सेतोढुङ्गा देखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुदै तलतर्फ कालीगण्डकी नदी किनारमा एक सय ५० मिटर तटबन्ध गरेको हो ।

रु. ७० लाख बजेटबाट तटबन्ध निर्माण भएको कार्यालयका इञ्जिनियर नरजङ गुरुङले बताउनुभयो । तटबन्धमा प्रयोग भएको ग्यावीयन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा पलास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ ।

तटबन्ध भएपछि लामगराका बासिन्दाले सुरक्षित महशुस गरेका छन् । लामगराको बस्ति, सँयौ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको टंकी संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताउनुभयो ।
लामगरामा करिब ५० घरपरिवारको बसोबास छ । यो बस्ति तरकारीको पकेट क्षेत्र हो । यसपाली तटबन्ध भएको ठाउँदेखि तलतिर रुइनेखोल्सासम्म थप तटबन्ध गर्न सकेमा थप सुरक्षित हुने स्थानीयको अपेक्षा छ ।
