
बेनी ः बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ ।
परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको पछै म्याग्दीको सदरमुकाम बेनी बजारदेखि उत्तर पश्चिमतर्फको डाडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको, जनै राख्ने र सरसफाई गर्ने बाहेकको काम सकिएको छ । ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोज महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्काको म्याद थप भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
“चार रोपनी क्षेत्रफलमा पार्कमा घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ,” उहाँले भन्नुभयो “ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७६÷०७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

नगरपालिकाले मन्त्रालयमा नियमित प्रतिवेदन बुझाउन नसक्दा आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि ४४ महिनासम्म निर्माण रोकिएको थियो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७७ फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माण कार्यले पछिल्लो गत फागुन महिनादेखि गति लिएको थियो ।
लामो समय र धेरै प्रयासपछि बजेट ब्यवस्थापन गरेर वि.स. २०७८ असार देखि रोकिएको रावण पार्क निर्माण कार्यलाई लयमा फर्काएर अन्तिम चरणमा पु¥याएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताउनुभयो ।
उहाँका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ । पुलह आश्रम १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणले पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
समुन्द्रि सतहदेखि दुई हजार मिटर उचाईमा रहेको रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।
विसं २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन् । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ ।
बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुदै पुरुण्डी सम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डी देखि करिब दुई किलोमिटर कच्चि सडकको यात्रापछि पछै पुगिन्छ ।
