
६९ वटा योजना कार्यान्वयन
बेनी । खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा ९४ दशमलब ३४ प्रतिशत बजेट खर्च र ६९ वटा योजना कार्यान्वयन गरेको छ ।
कुल रु. १३ करोड ९९ लाख आठ हजार बजेट बिनियोजन भएकोमा रु. १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिचाई, नदी नियन्त्रण र उर्जा सम्बन्धी प्रदेशका ६७ मध्य ६४ र संघीय शसर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो ।

२६ वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना रहेका थिए । खानेपानीका १७, सिचाई र नदी नियन्त्रणका छ÷छ वटा योजना, उर्जा र अध्ययन सर्वेक्षणको एक÷एक वटा कार्यक्रम सम्पन्न भएका छन् ।
डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाहरुबाट एक हजार दुई सय ८३ वटा धारा निर्माण भएकोमा नौ सय ३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ । तीन हजार एक सय १९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ टंकी र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएको छ ।


प्रदेश सरकारका ३६ वटा खानेपानी योजनाका लागि रु. छ करोड ९८ लाख २५ हजार बजेट बिनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलब ०९ प्रतिशत अथवा रु. छ करोड ७० लाख ९५ हजार खर्च भएको छ ।
संघीय शसर्तका पाँच वटा योजनाका लागि रु. ५१ लाख बजेट प्राप्त भएकोमा तीन वटा योजना कार्यान्वयन र रु. ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।
कार्यालयले सञ्चालन गरेका सिचाई आयोजनाहरुबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिचाई सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलब ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिचाईका संरचना निर्माण भएको छ ।
सिचाईतर्फ २२ वटा योजनाका लागि रु. चार करोड ८३ लाख ४० हजार बजेट बिनियोजन भएकोमा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिचाईमा बिनियोजन भएको मध्य ९१ दशमलब ३१ प्रतिशत अथवा रु. चार करोड ४१ लख ४० हजार खर्च भएको छ ।

नदी नियन्त्रण योजना मार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न छ वटा योजना मार्फत ४० मिटर पक्की पर्खाल, दुई सय ५० मिटर ग्यावीयन पर्खाल भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा तीन सय थान ग्यावीयन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको छ । नदी तथा पहिरो नियन्त्रण योजनाबाट एक सय १० घरपरिवार लाभान्वित र दुई दशमलब पाँच हेक्टर जमिन उकाश भएको छ । नदी नियन्त्रण योजनाका लागि रु. एक करोड ५० लाख ५० हजार बिनियोजन भएकोमा रु. एक करोड ४७ लाख ६९ हजार अथवा ९८ दशमलब १३ प्रतिशत खर्च भएको छ ।
