
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम शुरु भएको छ ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र, म्याग्दीले कार्यक्रम सञ्चालन गरेको हो । सिर्जनशिल कृषक समूहमा आवद्ध २२ घरपरिवार कृषकले जलवायु परिवर्तनको असर न्युनीकरण गर्ने प्रबिधीबाट खेती गर्न थालेका हुन् ।
कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिचाईका लागि चार हजार मिटर पाइप, पानी संकलन गर्ने नौ वटा ड्रम, दुई वटा पलास्टिक टनेल र एक वटा थोपा सिचाई प्रबिधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।



जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । कार्यक्रम कार्यान्वयनका लागि समूहलाई केन्द्रले आर्थिक वर्ष २०८१÷०८२ मा रु. पाँच लाख सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा यो कार्यक्रम अघि सारेको हो ।
यसैगरी सामाजिक र आर्थिक रुपमा पछाडी परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम सञ्चालन भएको छ । धवलागिरी गाउँपालिका–४ बगर, मालिका गाउँपालिका–४ ओखरबोट, रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगले र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा लागु भएको कार्यक्रम मार्फत एक सय भन्दा बढी घरपरिवार कृषक लाभान्वित भएका छन् ।
केन्द्रको रु. पाँच÷पाँच लाख अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिचाई पूर्वाधार निर्माण, पलास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छ । घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहरा आपुर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।
